२९ आश्विन २०८३, बिहिबार

पिताको मृत्यु भुल्न सक्छ पितृ धनको हानि भुल्न सक्दैन

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-रिना भट्ट

हलिउड अभिनेता ज्याकी चेनले भनेका छन्– हामी ग्लोबल भिलेजमा छौं तर छुट्टै परिवारबीच बाँचिरहेका छौं । विश्वमा छरिएर बसेका सबै मुलुकका परिवारलाई माया गर्नु हाम्रो जिम्मेवारी हुन्छ जसले सँगसँगै शान्तिसँग बस्ने वातावरण बन्छ ।

अभिनेता ज्याकीको यो भनाईले मुलुक–मुलुकबीचको सम्बन्धका स्वार्थहरूलाई पनि प्रतिकात्मक अर्थ दिएको छ । विश्वमा रहेका हरेक मुलुकको परराष्ट्र सम्बन्धका फरक आयाम छन्, ज्याकीको भनाईअनुकुलतामा छन् या छैनन् ? यो एउटा बहसको विषय बन्न सक्छ ।

यद्यपि, नेपाल जस्तो मुलुकले ग्लोबल भिलेजको नीतिमा कसरी आफूलाई बलियो उपस्थितिमा राख्न सक्छ ? यस विषयमा केही गन्थन गर्नु उपयुक्त हुनेछ ।

आजको विश्वमा कुनै मुलुक एक्लै बाँच्न सक्तैन । ग्लोबल भिलेजमा परिणत भइसकेको अवस्थामा अन्तर्राष्ट्रिय सम्बन्ध आजको यथार्थ हो । हरेक देशले विचार पुर्याएर राष्ट्रिय शक्ति बृद्धिका निम्ति विदेशी मुलुकसँग सम्बन्ध राख्छन् ।

सफल विदेश नीतिले नै कुनै पनि राष्ट्र को इज्जत र अन्तर्राष्ट्रिय समुदायमा शक्ति बृद्धि हुन्छ । विदेश नीतिमा प्राप्त गरेको सफलताले नै कुनै पनि राष्ट्र को घरेलु आन्तरिक क्षेत्रमा लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बिश्वशनियता बढ्छ । राष्ट्रिय हितको जगेर्ना र सम्बद्र्धन गर्न विदेश नीति एक महत्वपूर्ण हतियार साबित हुन्छ । तसर्थ यसको लागि कुनै पनि राष्ट्रको सरकार नै जिम्मेवार हुन्छ ।

विश्वमा कुनै पनि राष्ट्रले अन्य राष्ट्रलाई माया गरेर आर्थिक सहयोग प्रदान गर्दैनन् । जति पनि राष्ट्रहरूले एक अर्कालाई सहयोग गर्छन्, त्यहाँ आफ्नो राष्ट्रिय शक्तिको बृद्धि गर्दै महत्वकांक्षाको उपस्थिति कायम गरेका हुन्छन् ।

यो स्वभाविक प्रक्रिया जस्तै हो । मानव स्वभाव नै स्वार्थी हुन्छ । यो त अन्तर्राष्ट्रिय सहयोगको विषय हो ।

मैकियाबेलीको भनाई जस्तो ‘उसले आफ्नो पिताको मृत्यु भुल्न सक्छ तर पितृ धनको हानि भुल्न सक्दैन’ भन्नेहरूले बनाएको समाजबाट बनेको मानव निर्मित राष्ट्र पनि स्वभाविक रुपमै स्वार्थी हुन्छ । यस्तो अवस्थामा कुनै पनि राष्ट्रले अर्को राष्ट्रलाई माया गरेर आर्थिक सहयोग दिँदैन भन्ने कुराको उदाहरण प्रशस्त छन् । इतिहास पनि छन् । यस्तो अबस्थामा हाम्रो जस्तो बिकासोन्मुख राष्ट्रहरूलाई बिश्वको शक्तिशाली देशहरूले केही न केही स्वार्थले नै सहयोग दिने गरेको देखिएको छ ।

एकातिर हामीलाई आफ्नो आर्थिक अवस्था कमजोर भएको कारण आर्थिक सहयोग पनि चाहिएको छ अर्कोतिर भुपरिव्यष्ठित राष्ट्र भएकैले पनि छिमेकीसँग असल सम्बन्ध राख्नै पर्ने हुन्छ । यो विन्दुमा हामीले नेपाल र नेपालीका निम्ति सोचेर विदेश नीति तय गर्नुपर्ने हुन्छ ।

भारत र चीनबीचको सानो मूलुक नेपालको विदेश नीति आजसम्म स्व–अस्तित्वको रक्षा र राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धनको गाथा हो । नेपाल आफ्नो छिमेकमा उपनिबेशवादको कुचक्रले जोडिएको बेलामा पनि एक स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्र नै थियो । जसले आजको दिनसम्म असंलग्न परराष्ट्र नीति अबलम्बन गर्दै आफ्नो अस्तित्वलाई सगरमाथा जस्तै अटल र अमर बनाएको छ ।

कुनै पनि विदेशी मुलुकसँगको गहिरो सम्बन्ध र उसले प्रदान गर्ने सहयोग को बिषयमा जनता र नेतृत्वमा छलफल हुनै पर्छ । गणतन्त्रको स्थापना पश्चात भर्खरै मात्र हाम्रो जस्तो राजनीतिक संस्कारमा बृद्धि भएको देशमा सरकारद्वारा संचालन गर्ने कुनै पनि आन्तरिक एवं बैदेशिक नीतीमा बहस हुनु प्रजातान्त्रिक युगको सकारात्मक पक्ष हो

भौगोलिक बनावट, ऐतिहासिक अनुभव, सामाजिक सांस्कृतिक तत्व, आर्थिक कारण, राजनीतिक ब्यबस्था र राजनीतिक नेतृत्व इत्यादिले विदेश नीतिलाई निर्धारण गर्छ । राजनीति ब्यबस्था र राजनीतिक नेतृत्वले नै कुनै पनि राष्ट्रको विदेश नीति निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । किनभने भौगोलिक र आर्थिक तत्व भन्दा यो तत्व अस्थिर हुन्छ । समयको बेग बिश्वको बदलाव सँगसँगै नेपालमा पनि राजनीतिक व्यबस्थामा परिवर्तन पश्चात नेपाली बैदेशिक नीतिमा पनि चुनौतीहरु थपिन थाल्यो । बिभिन्न दलको सत्ता हुँदा दलिय सिद्धान्तअनुसारको व्यबहारले नेपालमा असंलग्नता लडखडाऊन लागेको पनि देखिँदैछ ।

गणतन्त्र जस्तो अभूतपूर्व राजनीतिक परिवर्तनपछि नेपालले परिवर्तन सुहाँउदो र गणतन्त्र संस्थागत गर्ने ढङ्गले बैदेशिक नीति निर्माण गर्नु पर्छm आफ्नो छिमेकी देश भारत र चीन दुबैबीच सौहार्दपूर्ण सम्बन्धलगायत अन्य मित्र राष्ट्रहरूसँग बढि नजिकिने नभएर तालमेल मिलाई सम्बन्ध कायम राख्न जरूरी छ ।

कुनै पनि राष्ट्रले प्रदान गर्ने आर्थिक अनुदान र सहयोगलाई बिगतको इतिहासको पाठ पढेर र त्यसले भबिष्यमा पर्न सक्ने प्रभावलाई बिश्लेषण गर्नु आवश्यक छैन र ? सबै नेतृत्व र जनता कुनै राष्ट्रको पक्ष र बिपक्षमा भन्दा पनि त्यसले हाम्रो राष्ट्रहित गर्छ कि गर्दैन भन्ने जानकारी लिएर मात्र कुनै प नि सहयोग स्वीकार गर्नुपर्छ । आफ्नो हितलाई सबैभन्दा पहिला प्राथमिकता दिनुपर्छ, कुनै राष्ट्रको पक्षमा लागेर अर्को राष्ट्रको बिरोध पनि गर्नु हुन्न र कुनै राष्ट्रको अन्ध भक्त बन्नुले असंलग्न विदेश नीतिलाई न्याय गर्दैन ।

नेपाल र नेपालीको हितलाई ध्यानमा राखी छिमेकी र मित्र राष्ट्रहरूसँग तालमेलको नयाँ धरातल पहिल्याउनुपर्ने छ । छिमेकीसँग समनिकटता कायम गर्दै मित्रतालाई एक अर्काबिरूद्ध प्रयोग नगरी दुवैसँगको महत्वलाई समानता दिनुपर्ने हुन्छ ।,  नेपाल र नेपालीको हित भनेको नै यहि हो ।

कुनै पनि विदेशी मुलुकसँगको गहिरो सम्बन्ध र उसले प्रदान गर्ने सहयोग को बिषयमा जनता र नेतृत्वमा छलफल हुनै पर्छ । गणतन्त्रको स्थापना पश्चात भर्खरै मात्र हाम्रो जस्तो राजनीतिक संस्कारमा बृद्धि भएको देशमा सरकारद्वारा संचालन गर्ने कुनै पनि आन्तरिक एवं बैदेशिक नीतीमा बहस हुनु प्रजातान्त्रिक युगको सकारात्मक पक्ष हो । जसलाई राम्रो प्रारम्भ मान्नु पनि पर्छ ।

नेपाली जनतामै देशको संम्प्रभुता निहित भएको हुँदा यसमा जनताको पनि चासो हुनु जरुरी हुन्छ । तर यति भन्दैमा यसमा बिचार नगरी बिबाद मात्र गर्ने हो भने देश भित्र गृहयुद्ध भित्रिएर  भर्खर प्राप्त गरेको गणतन्त्र नै धरापमा पर्न बेर लाग्दैन । यसर्थ नेपाली जनता र नेपालका नेतृत्वलगायत नेपाललाई माया गर्ने सबैले यो बिषयमा चनाखो हुनुपर्छ । आँखां चिम्लेर होइन बिचार पुर्याएर अन्तर्राष्ट्रिय सहयोग लिऔं र नेपाल र नेपालीको अस्तित्व लाई अटल,  अजर र अमर राखौं ।

(लेखिका पाटन क्याम्पसकी राजनीतिशास्त्र प्राध्यापक हुन्)