३० आश्विन २०८३, शुक्रबार

संविधानविद् भीमार्जुनको ‘कानुन र राजनीति’ पुस्तक सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhimarjun Acharyaकाठमाडौँ, २० फागुन । संविधानविद् डा भीमार्जुन आचार्यको २२ औँ कृति ‘कानुन र राजनीति’ बुधबार सार्वजनिक भएको छ ।

विसं २०६२ देखि २०७१ सालसम्मको देशको राजनीतिक परिस्थिति, विधिको शासन र सङ्क्रमणकालसँग सम्बन्धित ९९ वटा लेख सो पुस्तकमा समेटिएको छ ।

सभासद्द्वय गगन थापा र डा राजन भट्टराई तथा संविधानविद्द्वय डा विपिन अधिकारी र डा सुरेन्द्र भण्डारीले संयुक्तरूपमा सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।

सभासद् थापाले संविधानविद् आचार्यले संविधान र कानुनका विषयमा अहिलेसम्म लेख्दा र बोल्दा एकै प्रकारले प्रस्तुत हुनुभएकाले उहाँका तर्क सान्दर्भिक देखिएको बताउनुभयो ।

अर्का सभासद् डा. भट्टराईले राजनीतिक विषयमा तीतो र स्पष्ट अभिव्यक्ति दिनसक्ने व्यक्ति लेखक आचार्यका अधिकांश लेख पठनीय रहेको बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल का डिन रहनुभएका डा अधिकारीले जनादेशलाई राजनीतिक दलका नेताले प्रक्रियामा ल्याउन सकेमात्र त्यसले सार्थकता पाउने उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता तथा संविधानविद् डा भण्डारीले यस पुस्तकले राजनीतिलाई विधिको शासनभित्र ल्याउने प्रयत्न गरेको बताउनुभयो ।

पत्रकार रवीन्द्र मिश्रले पार्टीभित्र लोकतान्त्रिक अभ्यासको विकास नभएसम्म देशमा लोकतान्त्रिक पद्धतिको विकास नहुने धारणा प्रकट गर्नुभयो ।

संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष एवम् संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले लेखक डा आचार्यका अन्य कृति पनि सार्वजनिक हुँदै जाओस् नओइलाओस् भन्दै कलम उपहार दिनुभएको थियो ।