
काठमाडौँ, ६ माघ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको संसद बैठक आजका लागि बोलाइएको हो । बैठक सुरु भएसँगै संसद सचिवालयले सभामुख चयनको प्रक्रिया सुरु गर्नेछ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सभामुख चयनको प्रक्रिया सुरु हुने भएको हो ।
प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने संभावना रहेको छ ।
यसअघि सत्तारुढ दल नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।
प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा सञ्चालन गर्नुभएको थियो ।
दोस्रो बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने तय भएको संसद सचिवालयले जनाएको छ । बैठकको पहिलो कार्यसूचीमा सभामुख निर्वाचन हुनेछ ।















प्रतिक्रिया