‘अच्छे दिन’ अर्थात खुसीका दिन यतिखेर छिमेकी भारतमा सबैभन्दा बढी चर्चित वाक्य बनेको छ । भारतीय जनता पार्टी (भाजपा) ले गएको आम निर्वाचनमा बहुमत प्राप्त गरेमा देशमा खुसीका दिन आउने नारा दिएका थिए र सोही बमोजिमको सफलता हात लागेपछि हालैका दिनमा यो वाक्यले भारतभर चर्चा पाएको छ ।
भारतीय जनता पार्टीले सरकार निर्माणको अवसर पाएमा प्रधानमन्त्रीका दाबेदारका रूपमा अघि सारिएका सो पार्टीका नेता नरेन्द्र मोदीले निर्वाचनको प्रचारका क्रममा अघि सारेको नारा हो यो । नभन्दै त्यस पार्टीले बहुमत पनि हासिल ग¥यो र मोदी नै प्रधानमन्त्री बन्ने निश्चित पनि भयो । त्यसैले यतिखेर यो वाक्यको चर्चा छाएको हो ।
स्कुल, क्याम्पस, सरकारी कार्यालय, बन्द व्यापार, राजनीति, धर्मकर्म, मठ मन्दिर वा सबैतिर अहिले भनिदै छ– अच्छे दिन आगए अर्थात खुसीका दिन आए । एक आपसमा भेटपछिको प्रारम्भिक वार्तालापमा नै भारतीयहरू यही वाक्य उच्चारण गर्छन, हास्छन् र अनिमात्र आफ्ना निजी वात थाल्छन् । भारतीय विश्लेषकहरू भन्छन्– यतिखेर यो वाक्य वास्तवमा मोदीको पर्यायका रूपमा प्रयोग हुन थालेको छ । आशा गरिएका भारतीय अच्छे दिनको प्रवर्तक मोदी बनाइएका छन् ।
अखबारका पानाहरूमै यो वाक्य छाएपछि गत बिहीबारको एक भारतीय दैनिक छापाले टिप्पणी गरेको छ– हुनत अहिले नै यो धारणा बनाई हाल्ने वा टिप्पणी गरिहाल्ने बेला भएको छैन, तरपनि अच्छे दिनको यतिविधि आशा जगाउन सफल नरेन्द्र मोदीलाई भोलि भारतीय जनताले नै खराब दिनको कारकका रूपमा लिनुपर्ने बाध्यता कदापि पैदा नहोस् ।
हो, यतिखेर भारतीय सञ्चारले पनि खुसीका दिन कसरी ल्याउने र मोदीका आगामी दिनका अवसरहरू के के हुनसक्छन् भनेर आ–आफ्ना समाचार र विचारमार्फत सुझाएका छन् । तर ती सुझावका पुछारतिर उनीहरूले मोदीका चुनौतीका फेहरिस्त छुटाएका भने छैनन् । उनीहरूले अच्छे दिनका लागि लड्दा मोदीका सामु आइपर्ने अप्ठेरा र चुनौतीलाई पनि बुँदागत रूपमै पस्किएका छन् ।
अच्छे दिनको आगमनको सम्भावनालाई विपक्षी दलहरूले पनि मोदीलाई शुभकामना दिएका छन् । तर त्यो शुभकामना भने त्यति खुलस्त छैन र अकल्पनीय पराजयको मोडमा उभिएको विपक्षीलाई त्यसो हुनु स्वभाविक पनि हो । हामी पनि ती भनिएका खुसीका दिनको स्वागतका लागि आतुर छौँ– विपक्षीहरूको भनाइ छ ।
काँग्रेसी नेताहरूले भनेका छन्– मोदीले भारतीय जनतालाई आकासका तारा नै झारिदिन्छु जस्तो गरी असङ्ख्य आश्वासन बाँडेका छन्, जनताले त्यो सुखानुभूति प्राप्तगर्न सकून् हाम्रो पनि शुभकामना छ । यसै हप्ता निर्वाचनको परिणाम सार्वजनिक भएलगतैका प्रतिक्रिया हुन् यी ।
मोदीले ल्याउन लागेको खुसीका दिनको एक सबैभन्दा राम्रो अवसर हो– आफ्नै पार्टीको बहुमत । यसले उहाँलाई आगामी दिनमा आफ्नै गतिमा काम गर्न निकै सजिलो बनाउने छ । यसअघिका जस्तो क्षेत्रीय पार्टीहरूले सत्तारोहणको विषयलाई अब उहाँसँग मोलमोलाइ गर्ने सहजता प्राप्त गर्ने छैनन् । र यसले उहाँलाई पनि सरकारको अस्थिरताकै कारण काम गर्न पाइन भन्ने अवस्था पनि सिर्जना गर्न दिनेछैन ।
यतिमात्र नभई भारतको इतिहासमा दशकौँपछि पहिलोपटक भाजपा एक्लैलाई बहुमत दिलाएकोले पनि उहाँको उचाइलाई सत्तारोहण अगाडि बढाइदिएको छ । यसरी उहाँलाई अहिले नै राष्ट्रिय ‘हिरो’ का रूपमा स्थापित गराइदिएको छ । भनिन्छ, उचाइ ग्रहण गर्नुभन्दा त्यसलाई कायम गरिराख्नु बढी चुनौतीपूर्ण हुन्छ । त्यसैले अहिले भारतजस्तो विश्वकै ठूलो प्रजातन्त्र भनिएको देशमा प्राप्त यस नायकत्वलाई आगामी पूरै कार्यकालसम्म जोगाइराख्न उहाँलाई चुनौतीपूर्ण नै हुनसक्छ ।
डेढ वर्षजति अघि भारतको राष्ट्रपतिमा नियुक्त हुँदा सो समयका काँग्रेस पार्टीका वरिष्ठ नेता प्रणव मुखर्जीलाई भारतीय सञ्चारले दिएको उपाधि थियो– सफल राजनीतिज्ञ तर असफल अर्थशास्त्री । त्यस समयमा भारतको अर्थतन्त्रमा इतिहासकै नराम्रो गिरावट आएको थियो । राजनीतिज्ञका लागि देशको राज्य प्रमुख हुनु सबैभन्दा ठूलो सफलता हो र उहाँले त्यो स्थान ग्रहण पनि गर्नुभयो ।
तर अर्थशास्त्रीका रूपमा भने उहाँले देशलाई आफ्नो विशेषज्ञता दिन सक्नुभएन । देशको अर्थतन्त्रले भने उहाँ अर्थमन्त्री भएकै बेला त्यो हविगत प्राप्त गरेको थियो । त्यसैले उहाँप्रति यो टिप्पणी आएको थियो । भारत अहिले पनि त्यही कमजोर अर्थतन्त्रबाटै गुज्रिएको छ र वैदेशिक लगानीको मात्रा प्रतिदिन घट्दो छ । महङ्गीले जनता आक्रान्त छन् भने भ्रष्टाचार विगतका वर्षका तुलनामा झन झाँगिएको छ ।
यी आगामी सरकारका प्रमुख चुनौती हुन् । भारतमा भ्रष्टाचार संस्थागत बन्दैछ र यस विरुद्धका आन्दोलन वा क्रियाकलापहरू लगभग भुत्ते सावित भइरहेका छन् । यस्तो अवस्थामा मोदीले अहिले भनेजस्तो देशमा विकासको मूल फुटाउन गाह्रो पर्ने देखिन्छ । वैदेशिक लगानीको आकर्षणका लागि भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासन व्यवस्था स्थापना अनिवार्य र पूर्वसर्त हो ।
तर मोदीका लागि भने गुजरात मोडल लागु गर्न पाउने एक अनुभवी विकल्प छँदैछ । उहाँले हिजोको गुजरातलाई आजको गुजरातमा परिणत गर्न पोख्नुभएका पसिनाको कार्यानुभवले पनि अबका दिन विकासको पथमा सिँगार्न केही सघाउ पु¥याउने छ । अच्छे दिनको नाराका लागि उहाँले विगतको त्यस अनुभवको सहारा पक्का पनि लिनुभएकै होला । साथै भारतीयहरूले पनि त्यो विगत हेरेर नै उहाँमाथि आशा जगाएका हुनसक्छन् ।
उहाँको आगमनले नविनता बोकेको महसुस भने उहाँले सत्ताको बागडोर सम्हाल्नु अगावै नागरिकले गर्न थालेका छन् । आगामी सोमबारका लागि तय गरिएको भारतीय प्रधानमन्त्री पदको सपथ ग्रहण समारोहमा सहभागिताका लागि उहाँले आफ्ना दक्षिण एसियाली छिमेकी राष्ट्रका समकक्षीहरूलाई आमन्त्रण गर्नुभएको छ । यसले आफ्ना छिमेकमा पनि आगामी दिनको कूटनीतिक यात्रा अहिलेको भन्दा केही रमाइलो हुने प्रारम्भिक अनुमान अहिले नै लगाउन थालिएको छ ।
जेहोस यतिखेर भारत मोदीमय भएको छ र भारतीयहरू राम्रा एवम् खुसीका दिनको पर्खाइमा छन् । यसलाई उहाँले आगामी दिनमा के कसरी सदुपयोग गर्न सक्नुहोला भन्ने बारेमा यो वा त्यो कोणबाट विचार विमर्श भइरहेका छन् । आफुले विगतमा रोपेका आशाका बिउहरू फलाउने कसम खान अब केही रातहरू मात्र बाँकी रहँदा भविष्यका योजना त उहाँले बुनिरहनुभएको होला । तिनले सार्थकता पाउछ भन्ने आशामा र उहाँकै भाषाको अच्छे दिनको प्रतिक्षामा यतिखेर भारतीय जनता कुरिबसेका छन् । रासस














प्रतिक्रिया