१ कार्तिक २०८३, शनिबार

नक्कली स्मार्ट लाईसेन्स बनाउने ६ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ पुस । प्रहरीले नक्कली स्मार्ट लाईसेन्स बनाउने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीहरुको नक्कली परिचयपत्र बनाउने उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका १५ घर भई काठमाडौं जडिबुटी बस्ने २७ वर्षीय दिपक ब्लोन, सर्लाही हरिवन नगरपालिका १ घर भई काठमाडौं कुलेश्वर बस्ने ४८ वर्षीय शुभाष भन्ने बुद्धी बहादुर रोक्का, काठमाडौँ महानगरपालिकाका ६ बौद्ध चुच्चेपाटी बस्ने ३६ वर्षीया अनन्ता गुरुङ रहेका छन् ।

त्यस्तै, बारा जितपुर सिमरा नगरपालिका १ घर भई काठमाडौँ अनामनगर बस्ने ३१ वर्षीय अशोक कार्की, सिरहा सुखिपुर नगरपालिका ४ घर भई काठमाडौँ कोटेश्वर बस्ने ४१ वर्षीय मोहन यादब र काठमाडौँ महानगरपालिका २ लाजिम्पाट बस्ने ५६ वर्षीय कुमार तण्डुकार रहेका छन् ।

महानगरीय अपराध महाशाखा टेकु र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धानको क्रममा आशिष स्टुडियोका संचालक बुद्धि बहादुरको साथबाट दिपक ब्लोनको नामको स्मार्ट लाईसेन्स, विभिन्न व्यक्तिहरुको सवारी चालक अनुमतिपत्र ४ थान बरामद भएको छ ।

त्यस्तै, नागरिकताका प्रमाणपत्रहरु, भारत सरकारको आधार कार्ड र फोटो कन्सर्न प्रालिबाट लक्ष्मण झाक्रीको नामको सवारी चालक अनुमतिपत्र, उनकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट, सिपीयु, कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्बर सेमत बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबै जनालाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।