
-प्रतिक पौडेल
भैरहवा, १५ पुस । किसानले उत्पादन गरेका माछा उत्पादनको प्रदर्शन गर्ने उद्देश्यले रुपन्देहीमा मत्स्य महोत्सव आयोजना हुने भएको छ । माछापालनको व्यवसायिकरणको लागि मत्स्य महोत्सव आयोजना गर्न लागेको जानकारी मत्स्य, कृषि तथा माघी महोत्सव आयोजकले दिएका छन् ।
आयोजकका अनुसार शहरमा हुने महोत्सवमा देखाउनको लागि मात्र कृषि एक दुईवटा स्टल राख्ने गरेको जसका कारण रुपन्देहीमा भएको कृषि उत्पादनको प्रचारप्रसार प्रभावकारीताका साथ हुन सकेको छैन । किसानले आफ्नो उत्पादनको प्रचार आफैँ गर्ने उद्देश्यले पनि महोत्सव आयोजना हुन लागेको आयोजकको भनाई छ ।
मंगलवार सियारीमा गाउपालिकामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीले सियारीमा आयोजना हुने मत्स्य, कृषि तथा माघी महोत्सव प्रदेश ५ कै गौरवपुर्ण महोत्सव हुने बताए ।
चौधरीका अनुसार रुपन्देही मत्स्य सुपरजोनमा हुने माछा उत्पादन लाई लुम्बिनीको पर्यटनसँग जोड्न पनि महोत्सवको भुमिका रहने जानकारी दिए ।
कार्यक्रममा बोल्दै सियारी गाउपालिकाका अध्यक्ष अयोध्या थारुले महोत्सव किसानको महोत्सव भएको बताए । थारुका अनुसार महोत्सवले यस क्षेत्रमा हुने कृषि उत्पादनको प्रचारप्रसार गर्ने जानकारी दिए ।
सुद्धोधन गाउपालिका अध्यक्ष किशून चन्द चौधरीले महोत्सवले रुपन्देहीको माछा लाई देशभर चिनाउन भुमिका खेल्ने बताए । नेपाल मत्स्य व्यवसायी संघ जिल्ला कार्य समिती रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले माछा रुपन्देहीको मुख्य कृषि उत्पादन भएकोले यसको प्रचारप्रसारको लागी महोत्सवले भुमिका खेल्ने बताए ।
कार्यक्रममा मत्स्य सुपरजोन रुपन्देही संयोजक गणेश शाही, मत्स्य सुपरजोन कार्यान्वयन ईकाइ कार्यालय प्रमुख मकबुल अलि लगायतले मन्तव्य दिए ।
सियारी गाउँपालिकामा यस क्षेत्रमै पहिलो पटक मत्स्यमा आधारित महोत्सव हुने भएको हो भने ग्रामीण क्षेत्रमा रुपन्देहीमा पहिलो पटक कृषिमा आधारित महोत्सव हुन लागेको हो ।
महोत्सव नेपाल मत्स्य व्यवसायी संघ जिल्ला कार्य समिती रूपन्देही, प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रूपन्देही, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा हुने भएको हो ।
पुस २६ देखि माघ १ सम्म सियारी गाउँपालिकास्थित अमवामा जनतामा वीको खेलमैदानमा आयोजना हुने महोत्सव उद्धघाटन नेपाल सरकारका कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले गर्नेछन् ।
महोत्सवमा माछामा आधारित स्टलहरु रहने जानकारी आयोजकले दिएको छ । आयोजकका अनुसार महोत्सवममा ३६ वटा स्टल हुनेछ भने बिचमा दुई वटा पोखरी बनाइनेछ जसमा माछा पालन गर्ने नमुना स्वरुप देखाइनेछ ।
महोत्सवमा प्रवेश निशुल्क हुनेछ । आयोजकका अनुसार महोत्सवमा विभिन्न समुदायको संस्कृतिक प्रदर्शन पनि गरिनेछ ।
महोत्सव सफल बनाउन नेपाल मत्स्य व्यवसायी संघ जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष दिवाकर भुसालको संयोजकत्वमा ५ सय १ सदस्यिय मुल समिति र २१ सदस्यीय सचिवालय गठन भएको छ ।















प्रतिक्रिया