३० आश्विन २०८३, शुक्रबार

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ पुस । ‘प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६’ मा एपीएफ क्लब विजयी भएको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ० को विरुद्ध २ गोल गरी एपीएफ विजयी भएको हो ।

प्रथम भएको एपीएफ क्लबका खेलाडीहरुलाई प्रधानसेनापति थापाले मेडल, प्रमाणपत्र, ट्रफि र नगद पुरस्कार ३ लाख रुपैयाँ प्रदान गर्नुका साथै सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दिपा राईलाई यमाहा कम्पनीले सहयोग स्वरुप उपलब्ध गराएको स्कुटर प्रदान गरेका थिए ।

यस्तै खेलमा द्वितीय भएको त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले मेडल, प्रमाणपत्र र नगद १ लाख ५० हजार पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल नेपाल प्रहरी र भुटानका टिमलाई सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनालले नगद ५०/५० हजार रुपैयाँ पुरस्कार वितरण गरेका थिए ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट मिड फिल्डर, फरवार्ड र टिम कोचलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियाले तथा उत्कृष्ट गोलरक्षक र डिफेन्डरलाई बलाधिकृत शरद कुमार गिरीले पुरस्कार वितरण गरेका थिए ।

सोही क्रममा प्रतियोगिता सञ्चालन गर्ने रेफ्रि तथा अफिसियल्सहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले पुरस्कार प्रदान गरेका थिए भने सैनिक श्रीमती संघको तर्फबाट उपाध्यक्ष रिता गिरीले नेपाली सेनाको उदीयमान खेलाडी हुन सफल विमला वि.क.लाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरेकी थिइन् ।

२०७० सालबाट शुरु भएको यस प्रतियोगितामा विभागीय (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र ए.पी.एफ. क्लब) टिम(३ (तीन) लगायत प्रदेश (नं. १, २ र ५) को टिम(३ (तीन) र मित्रराष्ट्र (भारतको सिक्किम र भुटान) का टिम(२ (दुई) गरी जम्मा ८ (आठ) टिमको सहभागिता रहेको थियो ।

मिति २०७६ मंसिर २९ गतेदेखि सञ्चालन भएको ‘प्रधानसेनापति सातौं अन्तर्रा्ष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६’को समापन समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, वहालवाला तथा अवकास प्राप्त रथीवृन्द, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, विभिन्न मिडियाका सञ्चारकर्मीलगायत खेलप्रेमी दर्शकहरु समेतको उल्लेख्य उपस्थिती रहेको थियो ।