३० आश्विन २०८३, शुक्रबार

एनएमबी बैंकद्वारा २ सय ६७ विद्यार्थीलाई न्यानो स्वीटर वितरण

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चन्द्रौटा, ९ पुस । एनएमबी बैंकले कपिलवस्तुको शिवपुरस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषबाट बैंकले विद्यालयमा अध्ययनरत २ सय ६७ विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको हो । न्यानो स्वीटर पाएपछि विद्यार्थीहरुमा उत्साह थपिएको छ । स्वीटर लगाएर उनीहरु निकै रमाएका छन् ।

गरीब, विपन्न थारु समुदायका बालबालिकाहरुको बाहुल्यता रहेको उक्त विद्यालयमा एक कार्यक्रमको आयोजना गरी बैंकले न्यानो स्वीटर वितरण गरेको बैंकका चन्द्रौटा शाखा प्रमुख लालबहादुर भण्डारीले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो स्वीटर वितरण गरी सामाजिक कार्य गरेकोमा कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले बैंकको प्रशंसा गरे ।

गरीबीका कारण चिसो मौसममा एकसरो कपडामा विद्यालय आउन बाध्य बालबालिकालाई लक्षित गरी त्यहाँ अध्ययनरत सम्पूर्ण बालविकासदेखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीलाई न्यानो स्वीटर प्रदान गरी बैंकले प्रशंसनीय कार्य गरेको के.सी.ले बताए ।

शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी थारुले शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा एनएमबी बैंकको अहम भूमिका रहेको औल्याइन् ।

विगतका दिनमा पनि प्राकृतिक प्रकोपमा परेकाहरुका लागि घटना स्थलमै पुगी विभिन्न राहत सामग्री वितरण गरी मानव उद्धार कार्यमा सक्रिय रहेको जनाउँदै बैंकका चन्द्रौटा शाखा प्रमुख लालबहादुर भण्डारीको प्रशंसा गरिन् ।

वडा नं. १ का अध्यक्ष जगत बहादुर जि.सी.ले विपन्न परिवारबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई न्यानो स्वीटरले ठूलो राहत पुगेको बताए । उनले बैंकप्रति आभार व्यक्त गर्दै सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै जानुपर्ने जिकिर समेत गरे ।

कार्यक्रममा बैंकका प्रदेश नं. ५ का प्रमुख सुरेन्द्रमान महर्जनले यसरी सामाजिक क्रियाकलापमा बैंकले भूमिका निर्वाह गर्न पाएकोमा खुसी लागेको जनाए । बैंकले करीब १ लाख बराबरको स्वीटर वितरण गरेको उनले जनाए ।