
भद्रपुर, ८ पुस । जिल्ला प्रहरी कार्यालय झापाले १० महिनाको अवधिमा भन्सार चोरी, निकासी, पैठारी नियन्त्रणबाट रु चार करोड ३८ लाख बढी राजश्व सङ्कलन गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापामा आज भएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिनेश मैनालीले गत आर्थिक वर्ष २०७५/७६ को फागुनदेखि चालु आर्थिक वर्ष २०७६/७७ को हालसम्ममा सो रकम बराबरको राजश्व सङ्कलन गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी राजश्व विभिन्न मुद्दाको फैसला कार्यान्वयनबाट रु एक करोड ६५ लाख ४० हजार ९०० सङ्कलन भएको छ ।
लत्ताकपडाबाट रु ४८ लाख ७७ हजार ५८६, विद्युतीय सामग्री बरामदबाट रु तीन लाख ८२ हजार ९००, सवारी साधानको पार्टपूर्जाबाट रु १७ लाख ३२ हजार ९५०, किराना सामग्रीबाट रु ३८ लाख १० हजार ५८७, बरामद भएका अन्य सामग्री रु ८९ लाख ४९ हजार ४५०, पशुचौपाया एवं सवारी साधानको रु ३२ लाख ५७ हजार ४७२, काठको गोलिया (७०२. ७१ क्यूफिट) बाट रु २८ लाख ९६ हजार २० र सुपारी बरामदबाट रु १३ लाख, ८६ हजार गरी रु. चार करोड ३८ लाख २४ हजार ८६७ राजस्व सङ्कलन गरिएको हो ।
उपरीक्षक मैनाली काठमाडौँ सरुवा हुनुभएको छ । उहाँले झापामा १० महिना आफूले नेतृत्व सम्हाल्दा भएका गतिविधिको बारेमासमेत पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो ।
उहाँले आचारण विपरीत कार्य गर्ने ३८ जना प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरेको र उत्कृष्ट कार्य गर्ने २१२ जना विभिन्न दर्जाका प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको बताउनुभयो ।
झापामा रहँदा लागुऔषध, लत्ताकपडा, पशुचौपाय तस्करीको जालो च्यात्ने र त्यस्ता कारोवारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन उल्लेखनीय कार्य गर्नुभएको थियो । –रासस















प्रतिक्रिया