काठमाडौं, ८ पुस । मनाङ मर्स्याङ्दी क्लब जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा फर्किएको दिन थ्री स्टारले लिगमा पहिलो जित हात पारेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङले विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले निराश पार्दा दिनको दोस्रो खेलमा थ्री स्टारले अर्को विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती १–० ले समाप्त पारेको हो ।
मनाङको जितमा दयानन्द सिंहले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्दा मनाङ लगातार दोस्रो खेलमा विजयी भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयमा आर्मीका गोलकिपर विकेश कुथुको कमजोरीको फाइदा उठाउँदै मनाङले लगातार दोस्रो जित निकालेको हो । गोलकिपर कुथु र रक्षकबीच राम्रो तालमेल नमिलेको फाइदा उठाउँदै मनाङका विदेशी खेलाडी दयानन्दा सफल हुँदा अन्तिम समयमा आर्मीलाई महँगो भएको छ ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले आक्रामक खेल खेलेका थिए । तीन राष्ट्रिय खेलाडीसहित आक्रामक देखिएको आर्मीले निर्धारित समयमा पाएका राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएको थियो। सोही स्थितिमा मनाङ पनि थियो। यद्यपि निरन्तर काउन्टरमा रहेको मनाङ अन्ततः इन्जुरी समयमा सफल हुन पुग्यो ।
उपाधि दाबेदारी गर्ने आर्मीले मनाङविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिए पनि रणनीतिक हिसाबमा असफल भयो। १४औं मिनेटमा जर्ज प्रिन्स कार्कीले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको क्रसमा आर्मीका खेलाडी चुक्दा सुरुआती अग्रता लिनबाट वञ्चित भएको थियो ।
१९औं मिनेटमा मनाङका विमल रानालाई फाउल गरेपछि २० यार्ड टाढाबाट हानेको फ्रिकिकमा मनाङ स्तब्ध हुनुपरेको थियो। २३औं मिनेटमा आर्मीले अवसर सिर्जना गरेको थियो ।















प्रतिक्रिया