३० आश्विन २०८३, शुक्रबार

स्थायी कमिटी बैठकले पार्टीभित्रको गतिरोध तोड्यो : रघुजी पन्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले पार्टीभित्र देखिएको गतिरोध र गतिहिनता तोडेको बताएका छन् ।

पन्तले बैठकले पार्टीभित्र झाँग्गिँदै गएको गुटको समस्या पनि समाधान गर्न फलदायी बनेको टिप्पणी गरे । उनले भने, ‘स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको बारेमा जीवन्त छलफल भएको छ ।’

पन्तले स्थायी कमिटीको बैठक धेरै ढिला बसेको कुरा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि स्विकारेको र यस सम्बन्धमा आत्माआलोचना गरेको सुनाए ।

उनले भने, ‘हाम्रो पार्टीको विधानअनुसार स्थायी कमिटीको बैठक तीन–तीन महिनामा बस्नुपर्ने हो, तर स्थायी कमिटीको बैठक एक वर्षपछि बस्यो । यसपटकको बैठकमा विभिन्न कोण र प्रतिकोणमा छलफल भयो । सरकारको कामकारबाहीबारे पनि समिक्षा भयो । जनतालाई राहत दिन नसक्दा सरकार लोकप्रिय हुन नसकेको भनेर साथीहरुले कुरा राख्नुभयो । सरकारका मन्त्रीहरुले राम्रै काम भैरहेकोबारे बताउनुभएको थियो ।’

पन्तले यति समूहलाई सरकारले काखी च्यापेको बारेमा सोधिएको प्रश्नमा यसको जवाफ सरकारले नै दिने बताए । यद्धपी उनले सरकार कुनैपनि विवादमा फस्न नहुने सुझाए । उनले भने,‘सरकारले कसैलाई पनि काखी च्याप्नुहुँदैन् । भ्रष्टाचारजन्य गन्ध आउनुहुँदैन ।’

पन्तले सरकारले भारतसँगको सीमा विवाद कुटनीतिक रुपमा चाँडोभन्दा चाँडो हल गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘कालापानी, लिपुलेक, लिम्पियाधुराको नेपाली भूमीबारे सरकारले अहिले लिएको स्ट्याण्ड ठीक छ । सीमा विवाद पूरानो हो । अब यो विवादलाई यथाशक्य चाँडो हल गर्नुपर्छ । सरकारलाई व्यापक राम्रो जनसमर्थन छ । यही बेलामा पहलकदमी लिनुपर्छ ।’

स्थायी कमिटीको बैठकमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमी भएकोले त्यहाँबाट भारतीय सेना फिर्ता गर्नुपर्ने, भारतले हालै प्रकाशित गरेको आन्तरिक नक्शा नमान्ने र सीमा विवाद समाधानको लागि कुटनीतिक पहल गर्ने तीन वटा प्रस्ताव नै पारित गरेको पन्तले सुनाए ।

पन्तले नेपाल–भारतबीच खुल्ला सीमा रहेकोले सीमा विवाद भएको सुनाए । अर्को मित्रराष्ट्र चीनसँग भने सीमा विवाद नभएको उनले स्पष्ट पारे ।

नेपाल र भारतबीचको खुल्ला सीमालाई विस्तारै विस्तारै व्यवस्थित् गर्नुपर्नेमा पन्तले जोड दिए ।

उनले भने, ‘विस्तारै विस्तारे पासपोर्ट लागु गर्नुपर्छ । खुल्ला सीमाना भएकोले अहिले नेपालमा भुटानी शरणार्थीदेखि रोहिंग्याहरुको ठूलो संख्यामा प्रवेश भएको छ ।’ खुल्ला सिमानाको दुरुपयोग गरेर भारतबाट अवाञ्छित तत्व नेपाल छिर्ने खतरा रहेको पनि उनले टिप्पणी गरे ।

त्यस्तै, उनले सडक दुर्घटनाप्रति बैठकमा ध्यानाकार्षण गरिएको सुनाए । उनले भने, ‘सडक दुर्घटनाप्रति बैठकमा पार्टीको ध्यानाकार्षण भएको छ, हामीले घाईतेहरुको उपचार सरकारले व्यहोर्नुपर्छ भनेका छौं, पीडित परिवारलाई राहत दिनुपर्ने र टुहुरा बालबालिकाको शिक्षा दिनुपर्छ भनेका छौं ।’

पन्तले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले समय नदिँदा पार्टी एकताका बाँकी काम सम्पन्न नभएको भनेर बैठकमा प्रश्न उठेको पनि सुनाए ।

उनले भने,‘उहाँहरुले पनि यो कुरा स्विकार्नुभएको छ । अब पार्टीलाई गतिशिल बनाउनेबारे एकमत भएका छौं ।’ यही कुराको मनन गरेर पार्टीको केन्द्रिय कमिटीको बैठक यही पुष २३ गतेलाई बोलाईएको उनले स्पष्ट पारे ।

त्यस्तै, स्थायी कमिटीको बैठकमा एमसीसीको बारेमा पनि कुरा भएको सुनाउँदै पन्तले एमसीसी संसदबाट पारित गर्ने वान गर्नेबारे थप निर्णय गर्न सचिवालयलाई जिम्मा दिईएको पनि स्पष्ट पारे । उनले भने,‘एमसीसी आईपिएसभन्दा अघि आएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आईपिएस र एमसीसीबीच कुनै सम्बन्ध छैन भनेर भने ।’

तर, अमेरिकी अधिकारीहरुले यसबारेमा अर्कै अभिव्यक्ति दिएको उनले सुनाए । उनले भने, ‘एमसीसीमा नेपालको पनि १४ अर्ब पैसा परेको छ । यो भनेको २५ प्रतिशत हो ।

अनि शर्त भनेको अमेरिकाले मात्रै लेखापरीक्षण गर्न पाउने भन्ने राखिएको छ, ट्याक्सबारे पनि क्लियर पार्नुपर्छ भनेर साथीहरुले भन्नुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले एमसीसी पारित गर्नुपर्छ भन्नुभयो ।’

एमसीसीबारे अध्यक्ष दाहालले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री सहभागी नभएकोले यसबारेमा आफूले प्रधानमन्त्रीसँग थप छलफल गर्ने भनेकोले यसबारेमा निर्णय लिनको लागि सचिवालयलाई अधिकार दिईएको पनि उनले सुनाए ।