न्युयाेर्क, ७ पुस । अमेरिकाले युक्रेनलाई दिँदै आएकोसहयोग राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपतिसँग गरेको टेलिफोन संवादको ९१ मिनेटपछि नै रोक्न आदेश दिइएको खुलेको छ ।
पछिल्लो पटक सार्वजनिक भएको सरकारी इमेल अनुसार ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोनमा कुराकानी गरेको डेढ घण्टापछि नै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग बन्द गर्न आदेश दिएको हो ।
जुलाई २५ मा भएको टेलिफोन वार्तामा राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार अभियोगमा अनुसन्धान गर्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग आग्रह गरेका थिए । डेमोक्र्याटिक नेता बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा राष्ट्रपति बन्ने होडमा सबैभन्दा अघि छन् ।
डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पको सो टेलिफोन संवाद र त्यसपछिको गतिविधिले उनले राष्ट्रपति जस्तो गरिमामय पदलाई आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका प्रयोग गरेको आरोप लगाएका छन् ।
सोही अभियोगमा ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग समेत लागेको छ । नेपाली समय अनुसार गएको बिहीबार बिहान अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पमाथि शक्तिको दुरुपयोग र सदनको कार्य सम्पादनमा अवरोध गरेको भन्दै महाअभियोग लगाएको हो । सो महाअभियोग अब माथिल्लो सदन सिनेटमा गएको छ ।















प्रतिक्रिया