

काठमाडौँ, ५ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।
गोरखा नगरपालिका–४ पिपलथोकमा निर्माण गरिएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्ण कदको शालिकको आज अनावरण गर्नुहँुदै उहाँले नेपालले कसैको भूमिमाथि आँखा नलगाउने र नेपालको भूमिमाथि पनि कसैले थिचोमिचो गरेको मान्य नहुने बताउनुभयो ।
“हामी कसैको भूमिमाथि पनि आँखा लगाउदैनौँ, हाम्रो भूमिमाथि पनि थिचोमिचो नहोस्, हाम्रो भूमिमाथि गलत ढङ्गबाट आँखा नलगाइयोस् ”, मन्त्री भट्टराईले भन्नुभयो, “भारतले नेपालको भूमि समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि सरकारले वार्ता र संवादमार्फत विवाद समाधानका लागि प्रयत्न गरिरहेको छ ।”
“नेपाल गौतम बुद्ध जन्मिएको भूमि हो, यहाँ युद्ध, अशान्ति र झगडाको गुन्जायस छैन”, उहाँले भन्नुभयो, “हामी आपसी समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न तत्पर छौँ ।” –रासस















प्रतिक्रिया