
काठमाडौं, ३ पुस । रुकुम पश्चिमस्थित आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले ३ नम्बर वडाध्यक्ष केशरमान विकबाट कुटिएपछि नगरपालिका छाडेका छन् ।
उनी उपचारका लागि भन्दै काठमाडौं हिँडेका छन् ।
केसीसहित सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि विकका भाईलगायतको समूहले कुटपिट गरेका हुन् । कुटपिट गर्न लगाउने वडाध्यक्ष विकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गर्दा बुधबार साँझ ६ बजेतिर आठबीसकोट–९, राडीज्युलामा आफूहरुमाथि कुटपिट भएको उनीहरुले बताएका छन ्।
चेनले कुटेका कारण केसीको टाउकोमा ५ टाका लगाउनेगरी चोट लागेको छ ।
आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुको विषयमा विकसँग उनको विवाद भएको थियो । सोही विवादको रिस फेर्न आफूलाई कुटेको हुनसक्ने उनको अनुमान छ ।















प्रतिक्रिया