
काठमाडौँ, २ पुस । प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकोटको खडाचक्र नगरपालिका ७ का हाल काठमाडौं चावहिल बस्ने १९ वर्षीय वीरेन्द्र मल्ल र कालिकोटकै महावै गाउँपालिका ५ घर भई सुकेधारा बस्ने ३० वर्षीय दीपक शाही छन् ।
उनीहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले मंगलबार गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिबाट पक्राउ गरेको हो । उनीहरुले अर्काकै नामबाट ट्रायल दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।
साथै प्रहरीले उक्त ड्राइभिङ सेन्टरबाट विभिन्न सामानहरु पनि बरामद गरेको छ। २ थान ल्यापटप, १ थान प्रिन्टर, ११ थान नेपाली नागरिकताको नक्कली कार्ड, विभिन्न व्यक्तिको नागरिकता प्रमाणपत्र प्रयोग गरेर बनाइएको नक्कली नागरिकता ८ थान, नागरिकता बनाउन प्रयोग गरिने क्रिम पेपर ६ थान, जिल्ला प्रशासन कार्यालय लेखिएको पेपर १० थान बरादम गरिएको छ ।
त्यस्तै, ट्रायल परीक्षाका लागि जारी गरिने फारम ३० थान, नेपाल सरकार गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेको छाप १ थान, शाखा अधिकृतको छाप १ थान, स्ट्याम्प प्याड २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया