काठमाडौँ, १८ फागुन । सरकारले सार्वजनिक सवारी साधनमा भाडा घटाएको तेस्रो साता बित्दा पनि व्यवसायीले त्यसलाई कार्यान्वयनमा नल्याएपछि यातायात व्यवस्था विभाग कानुनअनुसार कारबाहीको प्रक्रियामा अघि बढेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले माघ २६ गते २.०३ प्रतिशत भाडा घटाएको थियो । व्यवसायीले अहिलेसम्म त्यसअनुरुपको भाडा नघटाएपछि विभाग कानुनीरुपमै अघि बढेर भाडा घटाउने प्रक्रियामा लागेको हो ।
“कारबाहीको प्रक्रियामा जान विभागले पहिलोपटक नेपाल राजपत्रमा भाडा घटेको सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार कार्यान्वयनमा लैजान खोजेको छ,” विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले भन्नुभयो, “ऐनको दफा ९६ अनुसार राजपत्रमा आजभोलिमै सूचना प्रकाशन हुने र त्यसपछि पनि व्यवसायीले भाडा दर लागू नगरे विधि विधानअनुसार कारबाहीको प्रक्रियामा अघि बढ्छौँ ।”
नयाँ भाडा दरअनुसार चार किलोमिटरको दूरीमा व्यवसायीले रु १३ भन्दा बढी लिन पाउने छैनन् । बढी भाडा लिएको पाइएमा सचेत गराउने र नमानेमा ऐनअनुसारका अन्य कारबाहीका प्रक्रियामा प्रवेश गर्ने महानिर्देशक बुर्लाकोटीले बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारी मन्त्रालयले वैज्ञानिक भाडादर विपरीत एकपक्षीयरुपमा भाडा बढाएकाले कार्यान्वयन नगर्ने बताउनुभयो । सरकारले २८ पैसा भाडा घटाउनुपर्नेमा एकैपटक रु एक भाडा घटाएर व्यवसायीलाई अवैज्ञानिक दबाब दिएको अध्यक्ष भण्डारीको भनाइ छ ।















प्रतिक्रिया