
-स्वतन्त्र नेपाल
ओ हो सरहरू नमस्कार
रेष्टुरेन्ट छिर्ने वित्तिकैको पहिलो स्वागत रेस्टुरेन्ट सञ्चालकले गरे काउन्टरबाट । प्रायः जाने ठाउँ भएर नै राम्रो चिनजान थियो । चिनजान यति थियो कि कहिलेकाहीँ त उधारो समेत दिन टाउको कन्याउने काम गर्दैन थे ।
कान्छा ए कान्छा
निकै ठूलो स्वरमा बोलाए कान्छालाई, उनको मनकामना रेष्टुरेन्टमा काम गर्ने कामदार, अन्दाजी १३÷१४ बर्षको हिस्सी परेको, गालामा सिँगानकै टाटो भए पनि पुक्क पुक्क गाला र पेटमा प्वाल परेको गन्जी लगाएको एउटा किशोर ।
ल सरहरू बस्ने कटेज साफ गरिदे, साहुजीको आदेशलाई चुपचाप सुनेर टाउको हल्लाउँदै लाग्यो कान्छा हामी बस्ने कटेजतिर र कान्छालाई पच्छाउदै हामी ।
सर सफाइ झ्याप झुप गरिहाल्यो कान्छाले, के ल्याऊँ सर ? उसको पहिलो वाक्य यहि थियो ।
पहिले दुई वटा शिखर आइस र एउटा सूर्य चुरोट ल्याउ बाँकी पछि भनुँला, नारायणले अडर गरे ।
एकैछिनमा चुरोट पनि ल्याइ हाल्यो कान्छाले र बाँकी अर्डर दिए सागरले, १ बोत्तल खुकुरी रम, एउटा चाउचाउ साधेको र दुई ठाउँ भुटुवा ल्याउ न अहिलेलाइ अरु मगाउँदै गरौला ।
सागरको अडर सुनेर मुकेशले असहमति जनाउँदै भने, त्यत्रो खान सकिएला र ?
समिप बोल्यो, ह्या सकिन्छ हौ किन तर्सिएको ?
समिपको कुरा हाम्रो टिममा कसैले काट्नै सक्थेनन् । यहाँसम्म कि मैले पनि, मुकेशले जबर्जस्ती नै भए पनि सहमति जनाउदै उसो भए एउटा अण्डा चाउमिन पनि ल्याउ भनेर थप अर्डर दिए, मुकेश भेजिटेरियन थिए तर अण्डा चाहिँ खान्थे यसैकारण प्रत्येक बसाईमा उनी मजाकको पात्र हुने गर्थे त्यसदिन पनि त्यही नै भयो ।
म मोबाइलमै व्यस्त थिएँ । खै कसको फोन आएको थियो कुन्नी, उमेरले सबैको दार्ई भए पनि संगत व्यवहारमा हामी साथी जस्तै थियौं ।
समिपले झर्किदै भन्यो, ह्या दाई कति मोबाइलमा व्यस्त हो के हजुर जतिबेला पनि कहिलेकाहीँ त मोबाइल अफ गरेरै भाइहरूसँग गफगाफ गरेपनि हुन्छ है ?
मैले हस्, भन्दै मोबाइल फ्लाइट मोडमा राखें र हामी पिउन थाल्यौं । एक बोत्तल रित्तिनै लाग्दा समिपले अर्को आधा बोतल पनि मगाउन कान्छालाई बोलायो, नारायणले घरबाट फोन आयो हँुदैन हिंड्नुपर्छ अब भन्दै असहमति जनाउदै थिए । मैले जवाफ दिनै परेन । समिपले नारायणलाई चुप बनाइहाल्यो र मलाई पनि पुनः पिउन सहमत गराइ छाड्यो, सागर र मुकेशले कुनै धारणा व्यक्त गरेनन् । पुन नारायण बोल्यो ‘धेरै नपिलाउ दाईलाई त्यत्रो टाढा जानुछ गाडी चलाउने दाईले नै हो, मापसेमा परिएला फेरि ।
नारायणलाई यसपाली समिपले जवाफ दिनै परेन, ‘दाईलाइ समात्ने हिम्मत कसैले राख्दछ र यार यो क्षेत्रमा ? दाई हिरो र डन सबथोक हो, हाम्रो दाई अल इन वान हो’ भन्दै हात अगाडि बढायो, हात मिलाउन, मैले जुठै हात मिलाइदिएँ मुकेशसँग ।
उसलाई चढिसकेको थियो । प्राय मान्छेले नशा चढेपछी नै आफुलाई सर्वशक्तिमान ठान्ने गर्छ भन्ने कुरा लगभग प्रमाणित भैसकेको थियो । नारायणले पुन जवाफ दिए, ‘मापसे नपरे पनि एकातिर लगेर ठोकदिन्छन् अनि थाहा पाउछौ सुड्डो । समिपलाई नारायणले बेलाबेला सुड्डो भनेर सम्बोधन गर्ने गर्थे खासमा पिएको बेला । मातेको बेला, डाइलग समिपलाइ थियो तर डाइलग फर्काए सागरले ‘ह्या बरु दाईले नखाएको बेला ठोक्नु होला तर खाएको बेला त मैले भगवान् आएर भने पनि पत्याउँदिन ठोक्नुहुन्छ भनेर’ सागरले यस्तरी ग्यारेन्टी लिए मानौ उनिले भविष्य देखिसकेका छ्न ।
म केवल उनीहरूको कुरामा हाँसिरहँे, पिएर सकिसक्दा लगभग ११ बजिसकेको थियो । रेष्टुरेन्टको मुल गेट बन्द भैसकेको थियो र हामी बाहेक रेष्टुरेन्टमा अरु ग्राहक पनि थिएनन्, हिसाबकिताब मिलाएर हामी साइड गल्लीबाट बाहिर निस्कियौं, मुकेश र नारायणलाई उनीहरूको घरसम्म पु¥यादिए । सागरलाई घरसम्म छोड्न जानु परेन ।
समिपको घर मेरै घर जाने बाटोमा पथ्र्यो, सागर समिपको घरमा बसे, म आफ्नो घरतिर लागें । घर पुगेर सुत्दा रातको लगभग १२ बजेको थियो कतिबेला निदाएछु पत्तै पाइन ।
६ बजेतिर श्रीमती उठेर कचकच गर्दै चिया ल्याएर बेडको माथिपट्टी राखिदिँदा थाहा पाएँ बिहान भैसकेको रहेछ । कचकच नौलो थिएन । रक्सी पिउने राती ढिलो आउने आदतप्रतीको असन्तुष्टि । उनको कचकच चियाको चुस्कीसँगै पिउदै थिएँ । चिया पिएर सकेपछि घर अगाडिको धारामा हातमुख धुन निस्कँे, मेरो आदत म सधैं हातमुख घर अगाडिको धारामै धुन्छु । नुहाउन बाथरुम गए पनि । धारामा गएर ब्रस गर्दा थाहा पाए मैले हिजो हातमा लगाएको लगभग दुई तोलाको सुनको ब्रास्लेट कता खसालेछु । कसैलाई केही भनिन । भित्र आएर बिस्तारमा हेरे छैन, कोठाको कुना कुना, दराज, लकर सबैतिर हेरिसके तर ब्रास्लेट भेटिएन ।
गाडी भित्र गएर पनि हेरे कत्तै थिएन त्यसपछि कसैलाई केही नभनि हिजो राती जुन बाटो फर्किएको थिएँ त्यही बाटो पुनः पुगे मनकामना रेष्टुरेन्टमा कतै उहीँ पो छोडे कि भन्ने आशले । काउन्टरमा साहु जी नै थिए । एकाबिहानै म पिउन गएको थिएन यत्ती कुरा साहु जीलाई पनि थाहा थियो त्यसैले होला हिजो साझ हामीलाई परैबाट नमस्कार गरेका मान्छेले म नजिकै पुग्दासम्म केही बोलेनन् । मैले नमस्कार गर्दै सोधें, ‘साहु जी, हिजो राती हामिले यहाँ केही समान छाड्यौं र ?’
मेरो प्रश्न नसकिदै उत्तर आयो साहुजीको ‘नाइ सर केहि छोड्नु भएन, के भयो र सर ? हाम्रो कुरा काउन्टरदेखि यस्सो अगाडि पट्टिको दाहिने तर्फ पर्ने किचनको जुठेल्नामा भाडा मस्काइरहेको कान्छाले सुनेको रहेछ ।
हिजो नै लगाएको उही भुँडिमा प्वाल परेको टिसर्ट लगाएको थियो । जुठै हात मेरो नजिक आएर आफ्नो देब्रे खल्तिबाट मेरो ब्रास्लेट निकाल्दै भन्यो– लिनुस दाई मैले भेट्टाएको थिएँ हिजो, पक्कै आउनुहुन्छ भनेर साहुजीलाई पनि खबर नगरि राखिदिएको थिएँ ।
उसको हातबाट ब्रास्लेट लिँदै मैले मेरो खल्तिबाट पर्स निकाले, जम्माजम्मी १६७५ रुपैयाँ रहेछ १५०० रुपैयाँ कान्छालाई दिएँ । लौ कान्छा राख यो पैसा ‘पैसा नै चाहिएको भए यो ब्रास्लेट किन फिर्ता गर्थे र ?’
यत्ती भन्दै कान्छाले मैले दिएको पैसालाई छुँदा पनि नछोइ, जुठो हात गन्जीमा पुच्छदै छिर्यो किचन तिर नै । म स्तब्ध भए एक्छिन केही सोच्नै सकिन ।
गाडी स्टार्ट गरे र फर्कें घरतिर । रेस्टुरेन्ट र घरबीचको लगभग २५ किलोमीटरको दूरीभरी सुनिरहेँ– दिनेश गौतमले गाएको “पैसा कसले बनायो बोलको गित, दोहोराउँदै, तेहेर्याउँदै ।
(लेखक हाल कतारमा कार्यरत छन्)















प्रतिक्रिया