५ कार्तिक २०८३, बिहिबार

हिमपातले कतै सकस कतै खुसी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २८ मंसिर । सुदूरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्लामा हिमपात भएको छ। बिहीबार रातिदेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा तथा हिमाली भागमा हिमपात सुरु भएको थियो।

शुक्रबार पनि अधिकांश उच्च भूभागमा हिउँ परेको छ। बाजुराको सदरमुकाम मार्तडी, बझाङको सदरमुकाम चैनपुरलगायत सातवटै पहाडी जिल्लाका अधिकांश भूभाग हिमपातले सेताम्मे छन्।

बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला, बैतडी, अछाम र डोटीमा हिमपातले जनजीवन प्रभावित भएको छ। बझाङ, बाजुरालगायत जिल्लाका बस्तीमा हिमपातले शुक्रबार शिक्षण संस्थासमेत बन्द भएका छन्। बाजुराको कोल्टी एयरपोर्टमा हवाईसेवा बन्द भएको छ।

डेढदेखि दुई फिटसम्मको हिमपातले भीमदत्त पन्तलगायत विभिन्न सडक अवरुद्ध भएका छन्। यस प्रदेशमा पर्ने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा भारी वर्षा भएर जनजीवन प्रभावित भएको छ। शुक्रबार रातिसम्म पहाडी जिल्लामा हिमपात र तराईमा वर्षा जारी छ।

बाजुरा संवाददाता कृष्ण ओलीका अनुसार सदरमुकाम मार्तडीसहित हिमाली भेगमा हिमपात भइरहेको छ। शुक्रबार दिउँसोदेखि मार्तडीमा हिउँ पर्न सुरु भएको हो। हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी पर्न थालेको छ।

हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ। मौसम बिग्रिएसँगै कोल्टी र वरपरका क्षेत्रमा हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको बाजुरा नागरिक उड्ययन शाखा कार्यालय कोल्टीले जनाएको छ। कोल्टी क्षेत्रमा मौसममा खराबी हुँदा नेपालगन्ज र सुर्खेतबाट दैनिक कोल्टी आउने र जाने यात्रु अलपत्र परेका छन्।

हिमपातसँगै बढेको चिसोका कारण बाजुरा जिल्लाको हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन्। लगातार पानी र हिमपात भएपछि सदरमुकाम मार्तडी बजारक्षेत्रसहित गाउँका विद्यालय बन्द भएका छन्।

बाजुरामा घरबाहिर आएर हिँडडुल गर्न नै समस्या देखिएको छ। बजार पसलहरू पनि पूर्ण रूपमा बन्द अवस्थामा छन्। वर्षाका कारण किसानलाई केही राहत भए पनि चिसोले सबैलाई सास्ती दिएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।