काठमाडौं, २६ मंसिर । संसद् अधिवेशन सुरु भएसँगै संसद्मा नयाँ सभामुख चयन प्रक्रियाको चहलपहल बढेको छ। पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय गर्नेगरी अनौपचारिक छलफल सुरु हुन थालेका छन् ।
सभामुखको उमेदवार कसलाई बनाउने विषयमा पनि सत्तापक्ष र प्रतिपक्षपार्टीमा अनौपचारिक छलफल सुरु भएको छ। नेकपाले सभामुख आफूले लिने भए पनि पार्टीबाट कसलाई उठाउने भन्ने औपचारिक निर्णय गरेको छैन।
पार्टी स्रोतले भन्यो, ‘दुई दिनपछि केही हुनसक्छ।’ प्रमुख कांग्रेसले बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीले सभामुख र उपसभामुखमा उम्मेदवारी दिने कि नदिने निर्णय गर्नेछ।
सभामुख र उपसभामुखका सम्भावित उमेदवार शक्ति केन्द्रमा धाउन थालेका छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सक्रिय देखिएका छन् तर पनि उनले उमेदवार हुने नहुने विषयमा केही बताउँन चाहदैनन्।
नेकपाका देव गुरुङ, अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भूषाल तथा उपसभामुख शिवमाया तुम्बाहाम्फेको पनि सक्रियता बढेको स्रोतले बतायो। उपसभामुख तुम्बाहाम्फेसँग सरकारको तर्फबाट कुनै मन्त्री भेट गर्न आएका छैनन्।
उनी यतिबेला पर्ख र हेरको अवस्थामा छिन्। उनले आफूलाई पार्टी नेतृत्वले अहिलेसम्म कुनै छलफल नगरेको दुखेसो पोख्न थालेकी छन्। पार्टीले राजिनामा दिन भनेमा उनले राजिनामा दिने मनस्थिती बनाएकी छन् तर आफ्नो अपमान हुने गरी पद छोडन उनले चाहेकी छैनन्।
उनले आफैलाई सभामुख बनाउन आफ्ना निकट नेतासँग छलफल गरेकी छन्। तर, सभामुख आफूलाई बनाउछन् भन्ने विश्वासमा भने उनी देखिएकी छैनन्। उनले पाए सभामुख बन्ने नपाए संसद्को पहिलो बैठक आफैंले सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने चाहना गरेकी छन्।
सभामुखको आफैं उम्मेदवार बन्ने हो भने पनि उनले उपसभामुखबाट राजीनमा दिनुपर्ने हुन्छ। उपसभामुखको राजिनामा विना नेकपाले सभामुखको उम्मेदवारी दिन पाउने छैन।
संविधानको धारा ९१ (२) ले सभामुख पुरुष भए उपसभामुख महिला, सभामुख जुन पार्टीको छ उपसभामुख फरक दलको हुनुपर्छ भन्ने व्यवस्था गरेको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया