
सल्यान, २१ मंसिर । सल्यान छत्रेश्वरी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित दुइजनाको मृत्यु भएको छ । नेपालगञ्जबाट सल्यान आउँदै गरेको एम्बुलेन्सलाइ ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि एम्बुलेन्स चालक छत्रेश्वरी –२ दहगाउँका अन्दाजी २८ वर्षका चित्र बहादुर सुनार र दाङ दंगिशरण गाउँपालिका वडा नम्बर ५ निवासी तिलकराम खड्का र उनकी पत्नी मालती खड्काको नवजात शिशुको घटनास्थलमै ज्यान गएको छ ।
घाइते सुत्केरी र उनका श्रीमान पनि गम्भीर घाइते भएको र उनको नजिकैको अस्पतालमा उपचार भइ रहेको प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरिक्षक राम बहादुर कार्कीले बताए ।
उनका अनुसार नेपालगञ्जबाट सल्यान आउँदै गरेको छत्रेश्वरी गाउँपालिकाको दमाचौर स्वास्थ्य चौकीको एम्बुलेन्सलाइ काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ८ ख ५४३२ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
शनिबार दिउँसो साढे २ बजेतिर बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ जिरो प्वाइन्टमा ट्रकले ठक्कर दिएको हो । छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ का वडा सदस्य प्रकाश हमालका अनुसार शुक्रबार दमाचौरबाट एकजना घाईतेलाई लिएर एम्बुलेन्स नेपालगञ्ज पुगेको थियो ।
फर्किने क्रममा दाङ दंगिशरणका सुत्केरी महिला, उनका श्रीमान र बच्चालाई लिएर दाङतर्फ आउँदै गर्दा दुर्घटना भएको हो ।















प्रतिक्रिया