
काठमाडौं, २० मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट शुक्रबार भिडियो कन्फ्रेन्स गरी ३ नम्बर र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १६ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु तथा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानका अभियन्ताहरुसँग अन्तरक्रिया गरेका छन् ।
उक्त अभियान अन्तर्गत विभिन्न जिल्लाहरुमा संचालन भइरहेका जनचेतनामूलक कार्यक्रमहरुलाई थप प्रभावकारी र उपयोगी बनाउने उद्देश्यले प्रहरी महानिरीक्षक खनालले उनीहरुसँग अन्तरक्रिया गरेका हुन् ।
अन्तरक्रियाको क्रममा प्रहरी महानिरीक्षक खनालले अभियानको कारण नागरिकलाई हिंसा सम्बन्धी कसूर गर्नु हुँदैन भन्ने विषयमा सचेत गराएको उल्लेख गर्दै अभियानलाई थप प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा सहभागी जिल्लास्थित विभिन्न महिला सञ्जालका प्रतिनिधिहरुले दिएको सुझावलाई कार्यान्वयन गर्न आपसी समन्वय गरी अगाडि बढ्ने बताए ।
साथै जिल्लाको शान्ति सुरक्षाको अवस्था, सम्बन्धित कामहरु तथा उक्त अभियानका गतिविधिबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग जानकारी लिँदै प्रहरी महानिरीक्षक खनालले महिला संजालको भूमिकालाई समुदाय(प्रहरी साझेदारी कार्यक्रमको अवधारणासँग जोडेर लैङ्गिक हिंसाका घटनालाई निस्तेज गर्न निरन्तर अघि बढ्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले अभियानको क्रममा क्षमता अभिवृद्धिका लागि प्रत्येक प्रदेशमा छिट्टै तालिमको व्यवस्था गरिने, महिला संजाललाई थप सशक्तिकरण गर्ने अवधारणा लागू गरिने, जनशक्तिको सशक्त व्यवस्थापनमा जोड दिने, अभियान अन्तर्गत एक जिल्लामा भएका सफल अभ्यासलाई अन्यत्र लागू गर्दै जाने जानकारी दिए ।
अन्तरक्रियामा उक्त जिल्लाहरुमा रहेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था तथा महिला सञ्जालका प्रतिनिधिहरुले भिडियो कन्फ्रेन्स मार्फत प्रहरी महानिरीक्षकज्यूसँग कुरा गर्न पाउँदा काम गर्न सहज हुने बताए । यस अभियान अन्तर्गत काम गर्ने प्रहरी कार्मचारीहरुको सरुवा र जिम्मेवारी सम्बन्धमा विभिन्न सुझाव उनीहरुले राखे ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमले यस अभियानलाई थप प्रभावकारी बनाएको र कार्यक्रमका अवधारणाको कारण अभियानलाई उचित कार्यान्वयनका लागि आपसी समन्वय गर्न सहज भएको विचार उनीहरुले व्यक्त गरेका थिए ।















प्रतिक्रिया