
काठमाडौँ, १७ मंसिर । अपांगता भएका व्यक्तिहरुले आफ्ना लागि आउने कार्यक्रमको बारेमा आफुहरुलाई नै थाहा नहुने वातावरणको अन्त्य हुनुपर्ने बताएका छन् ।
२८ औं अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा अपांग संरक्षण नेपालले राजधानीमा आयोजना गरेको सेतो छडि लगायत दृष्टिविहिनहरुका लागि आवश्यक सामाग्री वितरण कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले यस्तो माग गरेका हुन् ।
अपांग संरक्षण नेपालका अध्यक्ष बिरोध खतिवडाले अपांगता भएका व्यक्तिहरुका लागि खुलेका संघ संस्था र सरकारले आफुहरुको आवस्यकता अनुसार काम गर्न नसकेकोले आफूहरुले नै कार्यक्रम गर्नु परेको बताए । चाईना एयरका महाप्रबन्धक स्या रेले अपांगता भएका व्यक्तिहरुलाई माया र हेरचाह गर्नु नै मानव धर्म रहेको बताए ।
कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले नेपालमा अपांगता भएका व्यक्तिहरुका लागि आउने कार्यक्रम र अपांगता भएका व्यक्तिहरुको आवस्यकताको बारेमा जानकारी गराउदै आगामी दिनमा अपांगता भएका क्षेत्रमा आउनुपर्ने कार्यक्रमका बारेमा अवधारण प्रस्तुत गरे ।
कार्यक्रममा सय भन्दा बढि दृष्टिविहिनहरुलाई सेतो छडि र सय जना भन्दा बढीलाई पाठ्य सामाग्री वितरण गरिएको थियो । दृष्टिविहिनहरुका लागि अडियो पाठ्य सामाग्री उत्पादन गर्नको लागि चाईना एयरले केही थान कम्प्यूटर अपांग संरक्षण नेपाललाई हस्तान्तरण गरेको छ ।















प्रतिक्रिया