
एकै छिन् दुई तिहाई बहुमतलाई अलग राखौं । तानाशाही मानिएको तत्कालिन राजतन्त्रका अनेक अबशेषको व्यक्तिगत महत्वकांक्षामा रुमल्लिएका सपनालाई किनारा लगाऔं । पृथकतावादी र क्षेत्रीय, जातीय कुरा गर्ने ठूला, मझौला र साना दल, संगठन र झुन्डलाई शून्यमा राखौं ।
यी सबै लोकतान्त्रिक प्रणाली र प्रवित्तिका व्यवाहारिक पाटा होइनन् भन्ने नै ठानिदिऔं, मानिदिऔं । जसरी गणितमा भनिन्छ मानौं– शून्य ।
सत्ता कसको छ, त्यसले मुलुक कुन गतिमा पुर्यायो यी पनि छाडौं । तिनले के विकास गरे, कति गरेनन् । कति भ्रष्टाचार गरे, कति उडाए, लोकतन्त्रको दुरुपयोग कसरी गरे, यी विषयमा पनि चर्चा नगरौं ।
चर्चा गरौं– लोकतन्त्रको पर्यावाची दल नेपाली कांग्रेसको । त्यसभित्रको आन्तरिक लोकतन्त्रको । त्यसका लागि बडेमान उदाहरण, उद्धरण र व्यक्तित्वले दिएका योगदानको भरपूर चर्चा गर्ने नेताहरूको । खासगरी, यस आलेखमा कांग्रेसको आन्तरिक जीवनको लोकतन्त्रबारे ति युवा नेतालाई सम्बोधन गर्न मन छ– जो प्रति सम्भावनाको विकल्प त होइन, केही शेष देख्न सकिन्छ ।
भाषण चोटिला छन् । वाक कलामा सायदै नेपालका राजनीतिज्ञमा, खासगरी युवा राजनीतिज्ञमा विश्वप्रकाश शर्मा, गगन थापा जस्ताको रफ्तार बलियो हुन्छ । धेरै भाषण सुनियो । लोकतन्त्रको ग्रन्थी नै नेपाली कांग्रेस भएको पनि सुनियो । वास्तवमा त्यो ग्रन्थी कांग्रेस भन्दै गर्दा, त्यहाँभित्रको आन्तरिक लोकतन्त्रको व्याख्या गर्न बिर्सिएका हुन् की यी युवा नेताले ?

नेपालको परम्परावादी राजनीतिक संस्कारबाट अलिक अलग देखिन सक्ने नेतासँग केही आशा, केही भरोसा र परिवर्तनको संगीतको धुन हुनसक्छ भन्ने अभिलाषा जोकोहीलाई पक्कै हुन्छ, छ पनि । राजनीतिक विचारधारा भन्दा पनि राजनीतिक संस्कार र आगामी पुस्ताको भविष्यका बारेमा सोच्नेहरू यसरी प्रश्न गर्न चहान्छन् ।
राजनीतिमा जति आशा र सम्भावनाको व्याख्या गरिन्छ । नेपाली कांग्रेसका अन्यभन्दा शर्मा र थापाहरूमाथिको विश्वास र टिप्पणी आजको पुस्ताले कम नै गर्छन् । यसो गरिरहँदा कांग्रेसको बर्कोमा भर पर्ने ठाउँ त रहन्छ । तर उपनिर्वाचनमा आएको परिणाम, निर्वाचनताका दिएका अभिव्यक्तिलाई एउटा चिन्तनको कसीमा राखेर हेर्ने हो भने, शर्मा र थापाहरू पनि फगत आत्मरतीको हनुमानयात्राको मार्गमा देखिएका छन् । कांग्रेसको आन्तरिक जीवनमा पनि पारिवारिक, तानाशाही प्रवित्तिको सभापतित्व नेचर र तिनकै बचाऊका लागि सम्भावना भएका आजका युवाको बिर्को लगाउने कामले उत्साह दिन सक्तैन ।
कांग्रेस पार्टीको आन्तरिक जीवनमा पारेको प्रभावलाई नजरअन्दाज नगर्ने हो भने जोन प्याट्रिकको एउटा भनाईबाट यो आलेखलाई बिट मार्न सकिन्छ । कि, लोकतन्त्र भनेको गलत निर्णय गर्न सक्ने अधिकार हो । कांग्रेसजनले छातीमा हात राखेर भनुन्, सही नेतृत्व पाएका थियौं, ल्याएका थियौं
कांग्रेसको आन्तरिक जीवनभित्रको लोकतान्त्रिक पद्दतीमा राखेर हेर्दा तानाशाही बनिरहेका शेरबहादुर देउवाको कोटामा शर्मा र भागवन्डासहितको नयाँ खेमा सुरु गरेका कृष्णप्रसाद सिटौलाको काखमा थापालाई देख्नु पनि त एउटा प्रश्न हो । यो प्रश्न आफैंतिर फर्किएर गर्दैगर्दा विधान मिचिँदा अस्रेल्ल भएको नेपाल विद्यार्थी संघ, टिका थापेर नेतृत्व लिने र विवादको बलमिच्याँईका कथासँग जोडिएको तरुण दललाई लयमा ल्याउन शर्मा, थापाहरूलाई कसले रोकेको छ, कसले बाटो छेकेको छ ? यो प्रश्नको स्थान हुन सक्ला कि नसक्ला, लोकतन्त्रमा ?
लोकतन्त्रको गीत गाउँदै गर्दा राजनीतिक प्रतिशोधका आधारमा त्यसबेला सुशीला कार्कीलाई महाअभियोग लगाउने प्रस्तावमा हस्ताक्षर गर्नेमा थापा पनि सहभागी थिए । शर्मा बाहिर बसेर कार्कीविरुद्ध पार्टीको वकालत गरिरहेका थिए । छातीमा हात राखेर भनौं, त्यसबेला पार्टी सभापति शेरबहादुर देउवाको तानाशाही आदेश ठिक थिएन भनी जनतामाझ उभिएर माहौल बनाउनु एउटा कुरा भयो तर माहौल विगार्नका लागि गरिएको सहीछापले पार्टीभित्र आन्तरिक लोकतन्त्रका लागि लडेको अनुभूत गराउँछ ? सोध्न पाइएला नि, लोकतन्त्रमा ।
निर्मला पन्त प्रकरणमा कहीँ चिप्लिएको सरकारको आलोचना ठिक थियो, नागरिकस्तरबाट पनि भएकै थियो । तर १२ बर्षदेखि आततायी अपराधका संरक्षक अफताब आलमलाई जोगाइ राख्ने कांग्रेसभित्र लोकतन्त्रको प्रश्न उठ्यो ? शर्मा या थापाहरूले उठाउन सकेका रहेछन् ? आफ्नो आङको भैंसी सकभर नदेखौं, अर्काको आङको जुम्रा मात्र होइन, लिखा नै गनेर बसौं भन्ने परम्परावादी च्यादरभित्र सम्भावित नेता किन चुप लागेर बसेका रहेछन् ? यो प्रश्न यतिबेला गर्न पाउने कि नपाउने ?
हेक्का छ, राज्यमा भएका अनेक अपराध र तिनको छानबिन गर्ने दायित्व सरकारकै हो । जो शक्तिमा छ उसले नै हो अनेक प्रकरणमा छानबिन गर्ने, सजायको सिफारिस गर्ने, राज्यलाई एउटा गतिमा लैजाने । तर जुन बेला आफू सत्तामा बसियो, बाहिर लोकतन्त्रको गीत गाउँदै भित्र सर्वसत्तावादी चरित्र उदांगो बनाएको विषयमा डंका पिटेको खोई ? यदि कांग्रेसभित्र आन्तरिक लोकतन्त्र बलियो छ भने, प्रजातान्त्रिक प्रणालीको अभिभावक ठानिन्छ भने कैलालीमा सभापति देउवापत्नी आर्जु राणाको पराजयको दोष थोपरिएका कार्यकर्तालाई कारबाही गर्दैगर्दा भरतपुर महानगरपालिकामा उम्मेदवारी नै दिन बञ्चित गर्ने सभापतिमाथि छानबिन गर्ने कुनै प्रणाली छ कि छैन ?
यतिमात्र होइन, विधान र प्रणालीलाई च्यातेर हिँड्ने पार्टीका सभापतिमाथि औंला उठाएर प्रश्न गर्ने मात्र होइन कुनै आधार र प्रमाणबिना नै देशका प्रधानमन्त्री मिलेका कारणले विदेशीले नेपाल मिचेको नक्शा जारी गर्यो भन्ने गैरजिम्मेवारीतामाथि प्रश्न सोधिन्छ कि सोधिन्न ? त्यसको स्पष्टीकरण पार्टीमा कस्तो आयो, त्यसको सार्वजनकिकरण गर्ने लोकतान्त्रिक प्रणालीमा शर्मा थापाहरू विश्वास गर्छन् कि गर्दैनन् ? आम मानिसले यति त सोध्न पाउला नि ?
आगामी नेतृत्व चयनका लागि महाधिवेशनको विषयमा नै अन्यौल र अनिर्णित, भागवन्डा र प्रतिशतको हिसाबकिताब गर्ने लोकतन्त्रको मसिहा कसरी अगाडि बढ्ला त्यो समयले देखाउने छ । तर विगतको महाधिवेशनले दिएको देउवा नेतृत्व, उनले कांग्रेस पार्टीको आन्तरिक जीवनमा पारेको प्रभावलाई नजरअन्दाज नगर्ने हो भने जोन प्याट्रिकको एउटा भनाईबाट यो आलेखलाई बिट मार्न सकिन्छ । कि, लोकतन्त्र भनेको गलत निर्णय गर्न सक्ने अधिकार हो । कांग्रेसजनले छातीमा हात राखेर भनुन्, सही नेतृत्व पाएका थियौं, ल्याएका थियौं ।















प्रतिक्रिया