ताप्लेजुङ, १४ मंसिर । फक्तालुङ गाउँपालिका ६ घुन्सा ताप्लेजुङका चुङ्दाक शेर्पाले गत वर्ष १९ वटा याकसहितको गोठ बेचे। एक हप्ताभित्रमा ७ वटा याक ब्वाँसोले खाइदिएपछि आजित बनेका उनी पुख्र्यौली पेसा छोड्न बाध्य बनेका हुन्। वर्षौंदेखिको याक गोठ रित्याएका चुङ्दाकलाई अब के गर्ने भन्ने अन्योल छ। ‘अब कसरी गुजारा चलाउने भन्ने समस्या त छँदै छ’, उनले भने, ‘त्यो भन्दा ठूलो चिन्ता परम्परागत पेसा छोड्नुपरेकोमा छ।’
घुन्साकै छेतेन शेर्पाले चार दशकभन्दा बढी समय खम्बाचेनस्थित गोठमै बिताए। बाबु, बाजेले गरेको पेसालाई निरन्तरता दिएका उनी पनि गोठ छोडेर घर फर्केका छन्। उनी बैकल्पिक पेसाको खोजीमा छन्। तिब्बती ब्वाँसोले याक र चौंरी खाइदिएपछि दुवैले पशुपालन छाडेका हुन्। ‘एउटा याकको ९० हजारदेखि १ लाख ५ हजारसम्म पर्छ’, चुङ्दाकले भने, ‘ब्वाँसोले कति बेला आएर मार्छ, थाहै पाइँदैन।’
घुन्सा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाली चुङ्दाका अनुसार यो क्षेत्रको फलेदेखि कञ्चनजंघा हिमाल आधार शिविरसम्म याक र चौंरीका गोठ हुन्थे। वन्यजन्तुकै कारण आजित भएर छोडेको उनले सुनाए। ‘५ वर्षअघिसम्म प्रत्येक घरको गोठ थियो’, हिमालीले भने, ‘शेर्पाको पुस्तौंदेखिको पेसा लोप हुने अवस्थामा पुग्यो।’ सबैले तीन दिन हिँडाएर तिब्बत लगेर याक बिक्री गरेका हुन्।
यो क्षेत्रमा अब नुपु शेर्पाको एउटा गोठ मात्रै बाँकी छ। खम्बाचेनस्थित गोठमा ६० वटा याक छन्। त्यसमध्ये २४ वटा दुहुना छन्। त्यसमध्ये एउटा डी (माउ याक) मंगलबार दिउँसै ब्वाँसोले खाइदिएको नुपुका छोरा तेञ्जिङले सुनाए। ‘गोठमै आएर खाइदियो’, उनले टेलिफोनमा भने, ‘अब हामी पनि बेच्छौं।’पहिलेदेखि बाबुलाई बेच्न भनेको तर नमानेको उनको भनाइ छ। ‘मैले बेचौं भनेको पाँच वर्ष भयो, बुबाआमा मान्नुहुन्न, अब जन्तु (ब्वाँसो र हिउँचितुवा) ले सक्ने भयो’, उनले भने।
ब्वाँसोलाई खान दिनुभन्दा बेचेर अरु काममा लगाउने निष्कर्षमा आफू पुगेको तेञ्जिङले सुनाए। ‘अहिले तिब्बत सरकारले नेपाली याक, चौंरी खरिदमा रोक लगाएको छ’, तेञ्जिङले भने, ‘खुला भएपछि बेच्छौं।’ चौंरी पालेर घिउ, छुर्पी र चमर बिक्री गर्दै आएका यो क्षेत्रका बासिन्दा अहिले कोही पर्यटन व्यावसायमा, कोही होटल व्यवसायमा लागेका छन्। कोही विकल्प खोज्दै छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया