५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओली खतरामुक्त,केही दिनमै डिस्चार्ज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १४ मंसिर । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकको टोलीले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री ओली हाल खतरामुक्त अवस्थामा रहेको जनाएको हो ।

प्रधानमन्त्री ओलीले इम्युनोसप्रेसिभ (शरीरको प्रतिरोध क्षमता घटाउने औषधि) लिइरहेका कारण एपेन्डिसाइटिस भएको ढिला मात्रै थाहा भएको र त्यसको संक्रमणका कारण जोखिमपूर्ण अवस्था आए पनि समयमा नै उपचार गरिएकाले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा नै राखिने र शल्यक्रियापछि हुनसक्ने संक्रमणको जोखिम हटेपछि मात्रै अवस्था हेरेर डिस्चार्ज गरिने चिकित्सकले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र खतरामुक्त रहेको निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकरी दिइन् । उनले भनिन्, ‘अहिले खाना खान थाल्नुभएको छ, पाचनक्रिया पनि सामान्य अवस्थामा रहेको छ, अहिलेको अवस्थामा खतरामुक्त हुनुहुन्छ ।’

सुरुमा अस्पताल आउँदा संक्रमण पेटभरि फैलिएको उपचारमा संलग्न डा. रमेशसिंह भण्डारीले जानकारी दिए । उनले भने, ‘ठीक समयमा राम्रो निर्णय लिएका कारण हामी सफल भयौं । स्वास्थ्य अवस्थामा अपेक्षा गरेको भन्दा सुधार भएको छ ।’ मंगलबार बिहानदेखि पेट अत्यधिक दुखेपछि उनलाई अस्पताल लगिएको थियो ।

परीक्षणका क्रममा उनमा एपेन्डिसाइटिस र पेरिटोनाइटिस पुष्टि भएपछि तत्काल शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि भेन्टिलेटरमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीमा पुनः मिर्गौलाको समस्या देखिएको छ । प्रधानमन्त्री ओलीको बुधबार पाँचौंपटक डायलाइसिस पनि गरिएको थियो ।

पत्रकार सम्मेलनमा उनको निजी चिकित्सक डा. दिव्यासिंह शाह, सेन्टरका प्रमुख डा. उत्तमकृष्ण श्रेष्ठ, शल्यचिकित्सक डा. रमेशसिंह भण्डारी, मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, सघन उपचार विशेषज्ञ डा. सुभाष आचार्य र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको उपस्थिति थियो । राजधानी दैनिकले खबर छापेकाे छ ।