३० आश्विन २०८३, शुक्रबार

उपत्यकामा तापक्रम घट्दै, जाडो बढ्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ मंसिर । केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो । “डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जाने छ”, उहाँले भन्नुभयो, “आज काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम सात डिग्री सेल्सियसमा झरेको छ, बिहीबार उपत्यकाको तापक्रम आठ दशमलव सात डिग्री सेल्सियस थियो ।”

अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । केही दिनयता पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकाकासहित देशका धेरैजसो स्थानमा आंसिकदेखि सामान्य बदली भएको छ । शनिबारदेखि क्रमिक सुधार हुदैँ जाने बताइएको छ । हाल देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रहेको छ ।

आज राति देशका पश्चिमी र मध्य पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आइतबार पहाडी क्षेत्रमा आंसिक देखि सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम सात डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जिरीको न्युनतम तापक्रम दुई दशमलव आठ डिग्री सेल्सियस रहेको छ । –रासस