
दाङ, ९ मंसिर । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा नेतृत्वको सरकार राष्ट्रिय हितको पक्षमा दृढताका साथ अघि बढेको बताएका छन् ।
प्रेस संगठन दाङले सोमबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले नाकाबन्दी गरेका बेला नेकपाकै नेतृत्वको सरकारले भारतलाई घुँटा टेकाउन बाध्य पारेको दावी गर्दै यसपटकको सीमा विवादलाई पनि कुटनैतिक तवरले समाधान गर्ने बताए । ‘सरकार सीमा विवाद समाधान गर्न गम्भीर भएको भन्दै उनले भारतलाई कुटनैतिक नोट लेखेर दवाव दिएको बताए ।
नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले कालापानी र लिपुलेक नेपालको भएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसलाई तथ्यमा सावित गर्न नेकपा र सरकार दृढ भएको बताए ।
सीमा विवाद चलिरहेका बेला काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई आक्षेप लगाएर गल्ती गरेको भन्दै उनले त्यस विषयमा गल्ती बोलेको स्वीकार्न सुझाव समेत दिए । उनले नेपालको एक इन्च जमिन भारतलाई अतिक्रमण गर्न नदिने समेत बताए ।
नेकपाले सरकारको नेतृत्व गरेपछि कुल ग्राहस्थ उत्पादन बढेको भन्दै त्यसको वृद्धिदर भारतको भन्दा उच्च रहेको बताए । देशका सात प्रदेश मध्य सबैभन्दा धेरै विकास प्रदेश पाँचमा भएको मुख्यमन्त्री पोखरेलको भनाई छ । मुख्यमन्त्री पोखरेलले दाङको विकासकालागि आफू प्रतिवद्ध भएको उल्लेख गर्दै नेकपाले सरकारको नेतृत्व गरेपछि दाङको विकासले गति लिएको समेत बताए ।















प्रतिक्रिया