
-प्रतिक पौडेल
भैरहवा, ९ मंसिर । रुपन्देहीका उद्योगीहरुले उद्योग क्षेत्रमा संघियताको अनुभव हुन नसकेको गुनासो गरेका छन् । उद्योगीहरु देश संघिय संरचनामा जादा पनि केन्द्रको मुख ताक्न पर्ने बाध्यता भएकोले प्रदेश सरकारको भुमिका नभएको भन्दै गुनासो गरेका हुन् ।
सोमबार भैरहवामा प्रदेश नं ५ उधोग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको सह आयोजनामा भएको पाचौँ उद्योग दिवस २०७६ को कार्यक्रममा बोल्दै उद्योगीहरुले उद्योग क्षेत्रमा राज्यको अनुभूति नभएको बताए ।
उद्योगीहरुले उद्योग क्षेत्रमा विभिन्न समस्या भएपनि राज्यले त्यसको संबोधन गर्न नसकेको जानकारी दिए । दक्ष जनशक्तीको अभाव, दर्ता नविकरण, बैंकको चर्को ब्याज, लगायतका समस्या उद्योगीहरुले भोग्नु परेको उद्योगीहरुको भनाई रहेको छ ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि प्रदेश नं ५ प्रदेश सभाको अर्थ, उद्योग र पर्यटन समितिका सभापती दधीराम न्यौपानेले देशमा व्यवस्था परिवर्तन भएपछि लामो समय संक्रमणकाल भएको कारण उद्योगीहरुले समस्या भोग्नु परेको बताए ।
न्यौपानेले संघीय, प्रदेश र स्थानीय सरकार निर्माणपछि कानुन र कार्यविधि निर्माणमा आफूहरुले समय धेरै बिताएकोले अहिले अत्यावश्यक कानुन निर्माण भैसकेको हुनाले उद्योगीहरुका समस्या अब हरेक तहका सरकारले संबोधन गर्ने जानकारी दिए ।
न्यौपानेले नेपालको धेरै मान्छेमा पुरानो ह्याङओभर भएको कारण पनि समस्या सिर्जना हुने गरेको बताए । उनले कर्मचारीमा भ्रष्ट भएको कारण यसले समस्या गराएको जानकारी दिए ।
भ्रष्टचार अन्त्य गर्न सरकारी, सहकारी र निजी क्षेत्र दृढता पुर्वक अघि बढ्नु पर्ने बताए । सबै एक भएर अघि बढे मात्र भ्रष्टचारको अन्त्य हुने र भ्रष्टचारको अन्त्य भए देश विकास हुने न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारी, प्रदेश नं ५ उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव राधा वाग्ले, सिद्धार्थ उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य कृष्ण शर्मा, औधोगिक प्रतिष्ठान कार्यालय प्रमुख मुकुन्द ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुरिजम (नाट्टा) प्रदेश नं ५ का अध्यक्ष सागर अधिकारी, नेत्र प्रसाद पाठक, एजाज आलम, बाबुराम बोहरा, गोपाल ज्ञवाली, शान्ती शर्मा, ज्ञानु पौडेल लगायतले मन्तव्य राखे । कार्यक्रम निर्देशनालय प्रमुख यम बहादुर कुवरको अध्यक्षतामा भएको हो ।















प्रतिक्रिया