२९ आश्विन २०८३, बिहिबार

समृद्धिको सारथी बन्छु : उम्मेदवार विद्या भट्टराई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ४ मंसिर । कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताउनुभएको छ ।

चुनावी घरदैलोका क्रममा स्वर्गीय रवीन्द्र अधिकारीको गाउँ पोखरा–३३ भरतपोखरी पुग्नुभएकी उहाँले आज तल्लो पुँडिटारमा आयोजित चुनावी कोणसभामा पार्टी र सरकारको अभियानमा आपू समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखराको समग्र विकासमा रवीन्द्रको ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले रवीन्द्रको नेतृत्वमा अघि बढेका कयौं योजनाको कार्यान्वयन भइरहेका छन्, कयौं अझै बाँकी छन्, ती सबै योजना पूरा गर्नका लागि पार्टीले उम्मेदवार बनाएको हो ती अधुरा योजना पूरा गर्छु भन्नुभयो ।

नेकपा कास्कीका अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक कृष्ण थापाले उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको भन्दै रवीन्द्रको नेतृत्वमा नेकपाले अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्यसमेत रहनुभएको थापाले आफू पनि भरतपोखरी क्षेत्रको जनप्रतिनिधि भएको बताउँदै अव विद्यासँग सहकार्य गरेर विकासको मूल फुटाउँदै समृद्धिको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, युवा नेता रश्मी आचार्य, नेकपा पोखरा ३३ का वडाध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुनले नेकपाको नेतृत्वमा समृद्धिकोयात्रा पूरा गर्न विद्यालाई जिताउनुपर्नेमा जोड दिएका थिए । –रासस