
-जगन दाहाल
गुवाहाटी, २६ कात्तिक । नेपाली साहित्यका वरिष्ठ साहित्यकार प्रा. लीलबहादुर छेत्रीलाई बासुदेव मालती स्मृति अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र असम नेपाली साहित्य सभाले संयुक्त तत्वावधानमा यो पुरस्कार उनलाई प्रदान गरेको हो ।
गुवाहाटीको एउटा होटलमा सम्पन्न कार्यक्रमबीच उनलाई यो पुरस्कार प्रदान गरिएको असम नेपाली साहित्य सभाका मूल सचिव रुद्र बरालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली र असम नेपाली साहित्य सभाका अध्यक्ष दुर्गा खतिवडाले संयुक्तरूपमा अध्यक्षता गरेको कार्यक्रम बीच प्रा. छेत्रीलाई यो पुरस्कार प्रदान गरिएको हो ।
डा. खगेन शर्मा र इन्दु प्रभा देवीले सञ्चालन गरेको कार्यक्रममा पुरस्कारका प्रायोजक दुर्गा दाहाल, वरिष्ठ कवि नव सापकोटा, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. लक्ष्मण प्रसाद गौतम, असमका सेवानिवृत्त प्रसाशनिक अधिकारी दलबहादुर छेत्री, भागोपका असम एकाईका अध्यक्ष नित्यानन्द उपाध्यायलगायत वरिष्ठ साहित्यकारहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा नील बहादुरको जीवनी, उनको साहित्यिक यात्रा र नेपाली साहित्यमा उनले पुर्याएकाे योगदानमाथि चर्चा गरिएको थियो भने यस पुरस्कारमा एउटा प्रसस्ति पत्र मेडल र नगद २ हजार १ सय ११ अमेरिकी डलर रहेको छ ।
लण्डनबाट प्रदान गरिने यो पुरस्कार छेत्रीको अस्वस्थताको कारण अन्तर्राष्ट्रिय साहित्य समितिका प्रतिनिधिहरू गुवाहाटीमै आएर प्रदान गरेका हुन् ।
कार्यक्रममा आसमका प्रसिद्ध गायक नरबहादुर दर्जी र सुरेखा छेत्रीले साङ्गितिक प्रस्तुती दिएका थिए भने कार्यक्रमका संयोजक असमका विशिष्ठ समाज सेवक कृष्ण भुजेलले गरेका थिए ।













प्रतिक्रिया