२९ आश्विन २०८३, बिहिबार

जापानसँग सिँचाई क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल अघि बढ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ कात्तिक । जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको प्रतिनिधिमण्डलले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग भेटवार्ता गर्दै सिँचाई क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको हो ।

भेटमा तराई मधेषमा संचालन भएका सिंचाई आयोजनामा सहयोग गर्ने विषयमा छलफल भएको थियो ।

जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक नाकाडा टाहामीको नेतृत्वको प्रतिनिधीमण्डलले सोमबार मन्त्री पुनसंग सिंहदरबारस्थित उर्जामन्त्रालयमा भेटवार्ता गर्दै उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेका हुन् ।

जापानी राजदूत मसामिची साईगो समेत सहभागी बैठकमा सिंचाई र जलविद्यूत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।

उपमहानिर्देशक नाकाडाले भेटमा कृषी,जलस्रोत र सिंचाईको क्षेत्रमा जापानले गर्दै आएको सहयोगको निरन्तरता हुने भन्दै थप सहयोग गर्न जापान तयार रहेको धारणा राखे ।

भेटमा उर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले सरकारले सिंचाईतर्फ ठुला आयोजना अघि बढाइरहेको, तराई मधेषमा बाह्रै महिना सिंचाई उपलब्ध गराउने गरी तयारी गरेको र पहाडमा लिफ्ट सिंचाईको लागी काम भइरहेको जानकारी दिए ।

जापानले कन्काई सिंचाई आयोजनामा पुर्याएको सहयोगप्रती पनि धन्यवाद दिंदै सिंचाईको क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको बताए ।

उहांले जापान सरकारको सहयोगमा उर्जामन्त्रालय मातहत अनुसन्धान केन्द्र रहेको र सरकारले त्यसमा पहिलो पटक अनुसन्धानको लागी २० करोड बजेट समेत बिनियोजन गरेको जानकारी दिंदै उक्त संस्थासँग सहकार्य गर्न पनि आग्रह उपनिर्देशक टाहामीसँग आग्रह गरे ।

त्यसैगरी सिँचाई क्षेत्रमा जलउपभोक्ता समितिहरु सक्रिय रहेको र काम पनि प्रभावकारी रहेको भन्दै त्यसमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।

भेटमा सिक्टा सिंचाई परियोजनामा देखिएको घुलनशिल माटोको समस्या देखिएको भन्दै समाधानका लागी समेत छलफल भएको थियो । मन्त्री पुनले जापानसंग समाधानको लागी कुनै उपाय भए सहयोग गर्न भेटमा आग्रह गरेका थिए ।

भेटमा नलसिंङगाड जलविद्युत परियोजनाको बारेमा समेत छलफल भएको थियो । मन्त्री पुनले नलसिंङगाड जलविद्युत परियोजनामा जापानको लगानी र सहयोग हुने कुरामा नेपाल सरकार ढुक्क रहेको धारणा राखे ।