२९ आश्विन २०८३, बिहिबार

सदनबाट सडकमा झर्ने नेताज्यू, भुईंको टिप्न खोज्दा पोल्टाको पोखिएला !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunil-Sapkota

बोलीले ठेगान लगाउने नाममा आफ्नो स्तरबाट तल गिरेर अर्थात् सदनबाट सडकमा झरेर भने जस्तो गरी जो कोही अगाडि बढ्न खोज्छ भने त्यसले उसैलाई हानी गर्छ । नेपालीमा भएको एउटा आहान ‘भुईंको टिप्न खोज्दा पोल्टाको पोखिन्छ’ भने जस्तो हुन्छ । अरुलाई गालीगलौजको शब्द र भाषा प्रयोग गरेर होइन आदर र सम्मान गरेर आफ्नो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने कुराको हेक्का राख्न जरुरी छ ।

नेपालको राजनीतिले प्रजातन्त्र अथवा लोकतन्त्ररुपी डुंगा ख्याउन थालेको प्रजातन्त्रका योजनाकार, सिद्धान्तकार र सुत्रधार भनेर दावा गर्नेहरुको शब्द सापटी लिएर भन्नु पर्दा २००७ सालको प्रजातान्त्रिक आन्दोलन हुदै २०३७ सालको जनमत संग्रह,२०४६ सालको लोकतान्त्रिक आन्दोलन र २०६२/२०६३ सालको विशाल जनआन्दोलनसम्म आइपुग्दा एउटा हिरकजयन्ती समापन भइसकेको छ । यसबाट के प्रष्ट हुन् जरुरी छ भने नेपालमा सुरु भएर अगाडि बढेको लोकतान्त्रिक अभ्यास निकै परिपक्व भइसकेको छ अनि बिभिन्न किसिमका उकाली, ओराली ,भन्ज्याङ चौतारी पार गरी गन्तव्य पैल्याउने क्रममा रहेको छ । यात्रा जति अगाडि बढ्छ, त्यतिनै यसबाट अनुभव प्राप्त गर्न सकिन्छ भन्ने नेपाली मान्यता रहेको छ । हुनुपर्ने पनि त्यस्तै हो तर नेपालको राजनीतिक अभ्यासमा त्यो किसिमको लोकतान्त्रिक मूल्य र मान्यताले कुनै स्थान नै प्राप्त गर्न सकेको छैन ।

लोकतन्त्रको संस्थागत विकास गर्नका लागि दिगो शान्ति, समृद्धि, संस्कार र संस्कृतिको विकास र परिमार्जन पनि अनिवार्य शर्त हुन् । त्यसैले राष्ट्रिय रुपमा नै शान्ति, समृद्धि र संस्कृति कायम गर्नका लागि हामीले योगदान दिएनौं भने लोकतान्त्रिक पद्दतिको कुनै अर्थ र औचित्य हुदैन । लोकतन्त्रमा अधिकारको दावा गर्नेले जिम्मेवारीपूर्ण ढङ्गबाट आफुलाई सुम्पिएको काम कारवाही र दायित्वलाई निर्वाह गर्न सक्नुपर्छ । लोकतन्त्रका आधार स्तम्भभित्र पर्ने अद्यावधिक निर्वाचन ,समावेशीता ,पारदर्शिता, चुस्तदुरुस्त, जवाफदेहिता, समानुपातिक, समानता, मानवअधिकारको संरक्षण र प्रवर्द्धन, विधिको शासन अनि यसको परिपालन, जनउत्तरदायी, नियन्त्रित सरकार, भ्रष्टाचारमुक्त समाज, सुशासनयुक्त राष्ट्र, प्रशासनिक सुशासन, सामूहिक दायित्वबोध, जनसहभागितामा आधारित विकास, स्थानीय स्वायत्त शासनमा अधिकारको प्रत्यायोजन, नागरिक अधिकारको उच्च सम्मान, जनमतको सम्मान, न्यायिक बहुमतको कदर, स्वतन्त्र न्यायपालिका, संविधानवाद, संसदीय सर्वोच्चता, मौलिक अधिकारको प्रत्याभूति लगायत कुराहरुलाई जीवन्तरुप कायम गरी कार्यान्वयन गर्न सक्नु पर्दछ । नेपालको विद्यमान राजनीतिक, आर्थिक, सामाजिक अवस्थालाई मुल्यांकन गर्नु पर्दा यी लोकतन्त्रका आधार स्तम्भ र लोकतान्त्रिक मूल्य मान्यतालाई पूरै बेवास्ता अनि उपेक्षा गरिएको छ । यो भनेको लोकतन्त्रको हत्या सरहको कसुर हो ।

मानव जीवनको यात्राको कुरा गर्दा ढुङ्गे युगदेखि लोकतान्त्रिक युगसम्मको यात्रा पूरा भइसकेको छ भन्दा पनि फरक पर्दैन । मानव विकासमा भएको परिवर्तनको यात्राले एउटा अध्याय पूरा गरिसकेको छ । मानव जीवनको विकासको यात्रा भनेको यात्रामा नै सीमित हुनुपर्ने विषयवस्तु भएको हुनाले जात्रामा परिणत हुन नदिनका लागि संयमता अपनाउनुपर्नेमा जरुरी देखिन्छ । मानव जीवनको सुरुवात जंगलीतन्त्रबाट भएको हो भने यसको यात्रा लोकतन्त्रसम्म तय भइसकेको छ । हामी मानव जातिले जङ्गलदेखि आधुनिक परिवर्तनशील जमानासम्म आइपुग्दा हजारौं घुम्ती मोडहरु पार गरिसकेका छौं । यात्राको अवधिमा हामीले धेरै कुरा सिक्ने जान्ने, बुझ्ने स्मरण गर्ने, सोच्ने, परिवर्तनलाई आत्मसात गर्ने र सभ्यताको पहिचान गर्ने कार्य जानी सकेका छौं, अब यसको बारेमा जान्न र सिक्न जरुरी छैन । नेपालका नेताहरुले लोकतान्त्रिक चरित्रको निर्माण गरेर यसलाई व्यवहारमा प्रभावकारी ढंगले कार्यान्वयन गर्नुको बिकल्प छैन ।

नेपालको राजनीतिक गतिविधिलाई सुक्ष्म ढङ्गले मुल्यांकन गर्दा एकदमै नाजुक अवस्थामा रहेको पाइन्छ । राजनीतिक नेतृत्व वर्गमा अरुको कुरा पचाउन र सहन सक्ने क्षमताको खडेरी नै परेको छ, अनावश्यक रुपमा बखेडा झिकेर राष्ट्रलाई निकासको बाटोतर्फ उन्मुख हुन नदिनु, अन्धकारको भुमरीतिर धकेल्नु, देशमा नियमित रुपमा हुनुपर्ने विकास निर्माणका कार्यमा अवरोध खडा गर्नु त नियति नै बनिसकेको छ । राजनीति प्रक्रियालाई हेर्दा मोहनी हराएको सर्पको हालत पुगेको जस्तो देखिन्छ । नेपालको सन्दर्भमा भन्नु पर्दा राजनीतिमा संस्था, संस्कार र संस्कृतिको विकास अनि त्यसको उचित प्रयोग भएको देखिदैन । लोकतन्त्रले शासन गर्ने अधिकार मात्र प्रदान गर्दैन यसले त सभ्यता, सम्मान, समर्पण, सद्भाव, सुसंस्कृत, समानता, सहअस्तित्व, सहएकता र सहजीवनको आदर्शलाई परिस्कृत र परिमार्जन गर्न सक्ने वातावरणको समेत निर्माण गर्दछ । प्रजातान्त्रिक शासन व्यवस्थामा मानवअधिकारको संरक्षण, व्यवस्थापन र प्रवर्द्धन गर्दै आफ्नो प्राकृतिक,भौतिक, मौलिक र कानूनी अधिकारको स्वतन्त्र, निर्धक्क, नियमित र उदारतापूर्वक रुपमा उचित प्रयोग गरी अरुको अधिकारको आदर, सम्मान, स्वीकार र अंगिकार गर्न बाध्य तुल्याउन सक्ने समेत अधिकार राख्दछ । नेपालको परिवेशमा भन्नुपर्दा यो त सब ‘आकाशको फल आखाँ तरी मर’ भने जस्तो हुने गरेको छ । नेपालको सन्दर्भमा विचार गर्दा लोकतन्त्रका आधारभूत विषयवस्तुहरुका लागि कुनै किसिमको स्थानको उपलब्धता छैन भन्दा पनि अतियुक्त्ति नहोला ।

लोकतन्त्रको विकास र विस्तारका लागि सबैभन्दा ठूलो कुरा लोकतान्त्रिक संस्थाको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक हुन्छ । नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थालाई अंगिकार गरेता पनि यसलाई संस्थागतरुपमा परिमार्जन, विकास र विस्तार गर्न भने असफल भएको छ । लोकतन्त्रको आदर्श कुरा गरेर मात्र हुदैन यसलाई स्थायित्व प्रदान गर्न योसँग सम्बन्धित आवश्यक संस्थाहरुको निर्माण र निर्माण भइसकेका निकायहरुलाई समयसापेक्ष बनाएर निरन्तरता दिन सक्नुपर्छ ।

नेपालका नेताहरु जो आफूलाई लोकतन्त्रवादी हुँ भनेर ठोकुवा समेत गर्ने गरेको सुनिन्छ । तिनीहरुलाई लोकतन्त्रको आदर्श के हो भन्ने कुरा नै थाहा छैन जस्तो गरेर अनर्गल गालीगलौज गर्ने, असभ्य भाषा प्रयोग गर्ने, अभद्र शैलीमा प्रस्तुत हुने, होच्याउने, अर्गेल्ने, घोचपेच गर्ने, अराजनैतिक गतिविधि गर्ने, असंसदीय व्यवहार देखाउने, विभेदकारी नीतिको अवलम्वन गर्ने र जङ्गली शैलीमा अरुसंग व्यवहार गर्ने गरेका छन् । राजनीतिकर्मीहरुमा आफूलाई सर्वैसर्वा ठान्ने अरु मान्छेलाई भने मान्छे नै नमान्ने अनि नगन्ने परिपाटीको विकास हुदै गएको देखिन्छ । तुक्के शैलीमा अरुलाई होच्याउँदा आफूलाई प्रभावशाली, ठूलो र आदर्शवादी भएको घमण्ड गर्न रुचाउनेहरुको जमात बढेर गएको देखिन्छ । तर यो एकदमै गलत क्रियाकलाप हो । यसले कसैलाई फाइदा गर्दैन बरु उल्टै सबैलाई हानी गरेर क्षति पुर्‍याउने गर्छ । बोलीले ठेगान लगाउने नाममा आफ्नो स्तरबाट तल गिरेर अर्थात् सदनबाट सडकमा झरेर भने जस्तो गरी जो कोही अगाडि बढ्न खोज्छ भने त्यसले उसैलाई हानी गर्छ । नेपालीमा भएको एउटा आहान ‘भुइंको टिप्न खोज्दा पोल्टाको पोखिन्छ’ भने जस्तो हुन्छ । अरुलाई गालीगलौजको शब्द र भाषा प्रयोग गरेर होइन आदर र सम्मान गरेर आफ्नो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने कुराको हेक्का राख्न जरुरी छ ।

रातारात राजनेता बन्ने खोक्रो सपना देखेर सस्तो लोकप्रियता लागि छुच्चो र अप्रिय भाषाको प्रयोग नगर्नु नै राम्रो र उपयुक्त हुन्छ । केही सीमित वर्ग, जात, भाषा, संस्कार, संस्कृति, धर्म, परम्परा, सम्प्रदाय र सम्भ्रान्त वर्गको पछाडि लागेर राजनेता बन्ने कोरा कल्पना र भावना पालेको छ भने त्यो दुर्भावनायुक्त दुर्भाग्य हो, त्यसलाई तुरुन्त सच्याउन आवश्यक छ । स्वतन्त्र, लोकतन्त्र र प्रजातन्त्रलाई आफ्नो पेवा ठान्नहरुले के कुरा बुझ्न जरुरी छ भने लोकतान्त्रिक पद्दतिको बिरुद्दमा गएर यसको पक्षधर होइदैँन बरु यसको मूल्य मान्यता र आदर्शको अपमान हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थामा जनतालाई निर्णायक शक्तिको रुपमा मान्यता दिने गरिन्छ । जनताको जनादेशलाई अस्वीकार गर्नेहरुले जनअदालतको फैसला स्वीकार्न भने तयार हुनुपर्छ ।

त्यसैले अलोकतान्त्रिक गतिविधिमा संलग्न भएर असभ्य भाषाको प्रयोग गरेर होइन, लोकतन्त्रको असली पहिचान र आदर्शलाई कायम गरेर यसको गरिमालाई जोगाई राख्न आवश्यक हुन्छ । लोकतन्त्रको आधारभूत मूल्य र मान्यता बिरुद्दको कार्यलाई प्रोत्साहन गर्ने र उक्त कार्यमा विश्वास गर्नेहरुले जनतन्त्र, लोकतन्त्र र प्रजातन्त्रको खोक्रो कुरा गर्छन भने त्यो भनेको लोकतन्त्रको नक्कली खास्टोमा गरिएको कवाडीको दोकान जस्तो राजनीति हो । लोकतन्त्रका नाममा जनतालाई विभ्रम छर्ने काम हो, यसले मुलुकलाई कति पनि फाइदा हुँदैन । त्यही भएर यस्ता गतिविधिलाई तत्काल बन्द गरिनु पर्दछ । अबको बाटो भनेको लोकतन्त्रको असलीरुपलाई पैल्याएर अगाडि बढ्नु हो, अलोकतान्त्रिक हर्कत बन्द गर्नु हो अनि यसका मुल्य र मान्यताको सम्मान गर्दै सही ढङ्गबाट प्रयोग गर्न कुनै कसर बाँकी नराख्नु हो ।