
-जगन दाहाल
गान्तोक, २२ कात्तिक । सिक्किमको विविध कला एकाडेमी र प्रेसक्लब अफ सिक्किमले महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाउने भएको छ ।
१२ नोभेम्बरको दिन मनाइने देवकोटा जयन्तीलाई लिएर विविधकला एकाडेमीका अध्यक्ष किरण रसायलीले पत्रकार सम्मेलनको आयोजन गरी उक्त जानकारी दिएका हुन् ।
प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एकाडेमीका अध्यक्ष रसायलीले यस वर्ष देवकोटाको जयन्ति अङ्ग्रेजी क्यालेण्डर अनुसार गरिने बताए ।
देवकोटा लक्ष्मी पूजाको दिन जन्मिएका भएपनि उनको जन्म दिन १२ नोभेम्बरको दिन परेको कारण दुईवटा संस्थाले यसवर्षदेखि यसैदिनलाई देवकोटा जयन्तीको रूपमा पालन गर्ने निर्णय लिएको बताएका छन् ।
देवकोटाको जन्म अङ्ग्रेजी महिनाको १२ नोभेम्बर १९०९ को दिन भएको अनि त्यसैदिन लक्ष्मी पूजा पनि परेको कारण मानिसहरूले लक्ष्मी पूजा कै दिन उनको जयन्ती मनाउने गरेको पनि आयोजक पक्षको भनाइ छ ।
विविध कला एकाडेमीका अध्यक्ष किरण रसायलीले प्रेस कत्लब अफ सिक्किम बारे बोल्दै आफूले प्रेस क्लबलाई कहिल्यै पनि प्रेसको रूपमा मात्र नहेरेको र यसमा विभन्न कलाकारहरू पनि भेटिएको बताए । उनले प्रेस क्लबले पत्रकारहरूलाई मात्र नराखेर विविध कलाका कलाकारहरूलाई पनि स्थान दिएको बताएका छन् ।
यसरी नै प्रेस क्लब अफ सिक्किमका पूर्व अध्यक्ष भीम रावतले पनि प्रेसक्लबले यस कार्यक्रममा पूर्ण रूपमा सहयोग दिने बताएका छन् । उनले प्रेस क्लब अफ सिक्किमको भ्रातृ शाखा वितार कला सङ्गमले पनि पहिलेदेखि नै देवकोटा जयन्ती मनाउँदै आएको जानकारी दिए ।
उनले यो साहित्यिक कार्यक्रम हुने अनि सिक्किम, दार्जीलिङ अनि कालेबुङका कविहरूलाई निम्त्याएर कविगोष्ठीको आयोजन गरिने पनि बताए ।
यसरी नै प्रेस क्लब अफ सिक्किमका महासचिव पुरण तामाङले हामीले १२ नोभेम्बरको दिन लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाउँदा कुनै विवाद सिर्जना हुन्छ भने हाम्रोमा उनको जन्म प्रमाणको दस्तावेज छ भनेका छन् । कार्यक्रमको निम्ति मुख्य समन्वयकको रूपमा पत्रकार तथा कवि अमर गुरुङ (लाछिकाटी) लाई मुख्य समन्वयकको रूपमा राखिएको छ ।
जानकारी गराइन्छ, १२ नोभेम्बरको कार्यक्रम राजधानी गान्तोकस्थित जनता भवनको हलमा आयोजन हुनेछ जसमा वरिष्ठ व्यक्तित्वहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा वार्ता पनि प्रस्तुत गर्नेछन् ।













प्रतिक्रिया