२९ आश्विन २०८३, बिहिबार

उपनिर्वाचन २०७६ : प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा ६५ उम्मेदवार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ कात्तिक । निर्वाचन आयोगले तय गरेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्रका तर्फबाट कूल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम आजका लागि तय गरिएको थियो ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं १ को १, दाङ निर्वाचन क्षेत्र नं ३ को २ र बागलुङ क्षेत्र नं २ को २ का लागि आज उम्मेदवारी दर्ता गराइएको हो ।

कास्की क्षेत्र नं २ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका नेकपाका सांसद रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त भएको पदका लागि आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

आयोगका अनुसार उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नेपाली काङ्ग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सो निर्वाचन क्षेत्रमा कूल २२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । आयोगका अनुसार स्वतन्त्रबाट कमल जंग, जमुना शर्मा सुनिलबहादुर कोइराला, उमानाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, लक्ष्मीकुमारी भुजेल, सुनिल भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै काङ्ग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाट, साझा पार्टीका रजनकी केसी, नेकपा(माले)का टेकनाथ भण्डारी, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का श्रीमती गङ्गा मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ ।

कूल २२ जनाको उम्मेदवारी परे पनि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी काङ्ग्रेसका उम्मेदवारबीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ का लागि पनि प्रमुख राजनीतिक दलसहित स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगका अनुसार नेकपाका तर्फबाट देवीप्रसाद ढकाल, काङ्ग्रेसका कृष्णला भडेल, नेपाल मजदूर किसान पार्टीका नीरज लवजूले उम्मेदारी दर्ता गराउनुभएको छ ।

यस्तै कृष्णप्रसाद ह्योगो, जीवन नेपाली, कृष्णराम पोतामाहा, अर्जुन कोजु, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, सङ्गीता पौडेल, जीवनचन्द्र अधिकारीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेकपा(माले)का सुदर्शन लामिछाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, काङ्ग्रेस (बिपी)का मधुसुदन न्यौपाने गरी कूल १९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै बागलुङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा नं २ का लागि कूल १० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, काङ्ग्रेसका जितबहादुर शेरचन, राप्रपा (संयुक्त)का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारीले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ ।

यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्ती स्वतन्त्र र मङ्गोल नेशनल अर्गनाइजेशनका तर्फबाट मित्रबहादुर मगरले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै दाङको निर्वाचन क्षेत्र नं ३ को २ प्रदेशसभाका लागि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी कूल १४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सो निर्वाचन क्षेत्रमा नेकपाका तर्फबाट विमलाकुमारी ओली, काङ्ग्रेसका केशवराज शर्माले उम्मेदवारी दिनुभएको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विकले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, नेपाल मजदूर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का छोटीलाल थारु, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद डागी, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत, मङ्गोल नेशनल अर्गनाइजेशनका घनश्याम चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्रबहादुर खत्री, काङ्ग्रेस (बिपी)का दीपकुमार धितालले उम्मेदवारी दिनुभएको छ । त्यस्तै टीकाराम आचार्य, गोविन्द केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कास्की, भक्तपुर, बागलुङ र दाङमा मनोनयनपत्र दर्ता गराउने कार्यशान्तिपूर्ण एवं उल्लासमय वातावरणमा सम्पन्न भएको छ । –रासस