इटहरी, १६ फागुन । नेपालमा च्याउ सरी सञ्चालनमा आएका अवैध र गैरकानुनी मेनपावर कम्पनीका कारण वैदेशिक रोजगारका लागि आफ्नो देश छोडी विभिन्न खाडी मुलुकमा प्रवेश गर्ने नेपाली कामदारहरूले दुख पाइरहेको इटहरीमा आयोजित अभिमुखीकरण कार्यक्रममा उल्लेख गरिएको हो ।
सुनसरीको इटहरीस्थित युवा स्वरोजगार तालिम केन्द्रको भवनमा सम्पन्न सुरक्षित आप्रवासनसम्बन्धी पत्रकारलाई दिइएको दुईदिने अभिमुखीकरण तालिममा उपस्थित सञ्चारकर्मी तथा अभियानकर्मीहरूले यस्तो बताएका हुन् ।
वैदेशिक रोजगारलाई सुरक्षित तथा उपलब्धिमुलक बनाउने उद्देश्यले सम्पन्न गरिएको दुई दिने अभिमुखीकरण तालिममा अधिकांश अभियानकर्मीले नेपाल सरकारको फितलो अनुसन्धान र कानुन भएर पनि कार्यान्वयन गर्न नसक्नुले वैदेशिक रोजगार नेपालीहरूका लागि असुरक्षित बनेको बताइएको थियो ।
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन अवैध वैदेशिक रोजगार कम्पनीलाई सरोकारवालाले कारबाहीको दायरामा ल्याउन सक्नुपर्ने र सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्दा पीडित पक्षले न्याय पाउने गरी काम गर्न सक्नुपर्ने तथा निरन्तर सरोकारवालालाई झक्झकाइरहनुपर्ने कार्यक्रममा जोड दिइएको थियो ।
कार्यक्रममा सुरक्षित आप्रवासन परियोजनाका सहकर्मी दिनेश रेग्मी, सञ्चारकर्मी याम प्रधान, नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष बेदराज पौडेललगायतले सुरक्षित आप्रवासनसम्बन्धी आ–आफ्नो दृष्टिकोण राख्नुभएको थियो ।















प्रतिक्रिया