११ मंसिर २०८३, शुक्रबार

अख्तियार सदस्य बन्ने अर्यालको सपना बाटैमा तुह्यो, गृहसचिव राई पक्का 

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्यका दुई रिक्त पद मध्ये एउटामा जान पूर्वप्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले गरेको प्रयास तुहिएको छ ।

संवैधानिक निकायमा प्रमुख प्रतिपक्षीको समेत एक जना सदस्य राख्नुपर्ने हुँदा अर्याल नेपाली कांग्रेसको कोटामा त्यहाँ जान खोजेका थिए । कांग्रेस उपसभापति विजयकुमार गच्छादार मार्फत अर्यालको नाम अख्तियार सदस्यका लागि सिफारिस गर्न केन्द्रीय समितिमा प्रस्तावित थियो तर अर्का उपसभापति बिमलेन्द्र निधिले ठाडै अस्वीकार गरिदिएको स्रोतले जनाएको छ ।

निधिले अर्यालको नाममा सहमति नजनाए पनि सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदमा उक्त नाम लैैजान खोजेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अर्यालको नाम नै सुन्न चाहेनन् । बरु, कांग्रेसलाई विकल्प दिएरै सहमति जुटाउनका लागि प्रधानमन्त्रीले अर्को नाम पठाएको उच्च स्रोतको दाबी छ ।

नेपाली कांग्रेसका नेता तथा राष्ट्रपति विद्या भण्डारीका सम्धी तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका ज्वाँई पर्ने मुन्ना (सुरेन्द्र) यादवको नाममा कांग्रेसमा सहमति जुटाउन सुझाव दिइएको उच्च स्रोतले जनायो ।

यसैबीच अख्तियारको सदस्यका लागि संवैधानिक परिषदको बैठक मंगलबार बस्न सक्नेछ । बैठकले रिक्त रहेको अख्तियारका दुई सदस्यमा कांग्रेसबाट सहमति भएर आएको नाममा एक जना सिफारिस गर्नेछ भने सरकारका तर्फबाट हालका गृहसचिव प्रेमकुमार राईलाई लैजाने पक्कापक्की भएको स्रोतले जनाएको छ ।

राईलाई भावी अख्तियार प्रमुख बनाउने उद्देश्यका साथ सदस्यमा लैजान लागिएको जनाइएको छ । हालका अख्तियार प्रमुख नवीन घिमिरेको पदावधि सकिनासाथ राईलाई प्रमुख पदमा नियुक्त गर्ने प्रधानमन्त्री ओलीको इच्छा रहेको उच्च स्रोतले जनायो ।