
बनियानी, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार जनताको जीवन फेर्ने र विकास गर्ने अभियानमा जुटेको बताउनुभएको छ ।
नेकपा झापाको प्रचार विभागले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनतासँग पार्टीले गरेका बाचा र जनाकांक्षा पूरा गर्ने अभियानमा सरकार जुटेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक क्रान्तिलाई समृद्धिसँग जोड्ने काम भइरहेको छ ।” सरकार सञ्चालनका दुई वर्षमा धेरै काम भएका उल्लेख गर्दै उहाँले केही कमीकमजोरी भए त्यसलाई सुधार्दै लगिने बताउनुभयो । उहाँले भन्नुभयो, “दुई वर्षको अवधिमा धेरै काम भएका छन्, अझ धेरै गर्न बाँकी छन्, केही कमीकमजोरी भएका होलान्, त्यसलाई सुधार्नुपर्छ ।”
जनताले समृद्ध नेपाल बनाउने मूल जिम्मेवारी नेकपालाई दिएकाले सरकार सञ्चालनलाई नयाँ नेपाल बनाउने अभिभाराका रुपमा बुझ्नुपर्ने बताउनुभयो ।
मुलुकमा विदेशी हस्तक्षेप हुन नदिइने बताउँदै उहाँले नेपालका बारेमा नेपालीले नै सोच्नुपर्ने उल्लेख गर्नुभयो । मुलुक सङ्घीय प्रणालीमा गएको र नयाँ प्रणालीमा जाँदा केही असहज परिस्थिति सिर्जना भएको उहाँको भनाइ थियो । पार्टी एकताका सन्दर्भमा प्रवक्ता श्रेष्ठले साङ्गठनिक संरचना एकीकरण चाँडै सम्पन्न हुने बताउनुभयो । –रासस













प्रतिक्रिया