२८ आश्विन २०८३, बुधबार

सुनकाेशी दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १७ पुग्याे, ७ जनाकाे मात्र सनाखत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । दोलखाबाट काठमाडौँ जाँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । अहिलेसम्म मृतकमध्ये ७ जनाको मात्र सनाखत भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका ४, सिन्धुपाल्चोक जलजलेकी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, भीमेश्वर नगरपालिका दोलखाकी २४ वर्षीया रन्जिता केसी, शैलुङ गाउपालिका ३ कि ५१ वर्षीया रत्नकुमारी रावत र दोलखा घर भएका तीन महिनाको शिशु सिसान तामाङको सनाखत भएको सिन्धुपाल्चोकका प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाग्रस्त बसबाट उद्धार गरिएका ४६ जनालाई काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि र्पुयाइएको छ ।

बसका चालक धनबहादुर तामाङलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेर सो दुर्घटना भएको थियो ।

यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो ।

बसमा ४० बढी यात्रु सवार रहेका बताइएको छ । सिन्धु सहावहार अस्पताल खाडीचौरमा २० को उपचार भइरहेको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा पनि घाइतेको उपचार भइरहेको छ ।

गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक काफ्लेका अनुसार ठूलो दुर्घटना भएकाले क्षति बढ्न सक्ने छ ।