
काठमाडौं, १७ कात्तिक । तरुण दलका नेतासँग खसी माग्ने, तिघ्रा छेड्ने धम्कीसहितका अडियो बाहिर आएपछि विवादमा तानिएका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीमाथि प्रदेश प्रहरीले छानबिन थालेको छ ।
प्रहरी आचरणविरुद्ध काम गरे या नगरेको छानबिनका लागि एसएसपी नरबहादुर केसीको संयाजकत्वमा ५ सदस्यीय समिति बाँके पुगिसकेको छ । समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको निर्देशनका आधारमा प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेशविक्रम शाहले छानबिन समिति गठन गरेका हुन् ।
बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगञ्ज–२० स्थित नमस्ते भिलेज रिसोर्टबाट शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई हतियारसहित पक्राउ गरेको विवरण बाहिर आएपछि शाहीले अडियो लिक भएको थियो ।
सतहमा आएका विवरण र हल्लाको निष्पक्ष छानबिनपछि प्रहरी ऐनअनुसार नै कारबाही हुने बताइएको छ ।











प्रतिक्रिया