
काठमाडौँ, १६ कात्तिक । नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौलाले राम्रोसँग काम नगरेको बताएका छन् ।
मृगौलाले राम्रोसँग काम नगरेकाले नियमित डायलासिस र प्रत्यारोपण विकल्प भएको प्रधानमन्त्रीले बताएका छन् । “मृगौलाले राम्रोसँग काम गर्न नसकेपछि शरीरमा पानी, क्रेटिनिन, युरिनजस्ता पदार्थको मात्रा बढेको छ । अब नियमित डायलासिस अथवा प्रत्यारोपण विकल्प छ, अहिलेचाहिँ नियमित डायलासिस नै गर्ने उहाँको कुरा छ,” प्रधानमन्त्रीले स्वास्थ्यका बारेमा गरेको ब्रिफ्रिङ सचिवालय सदस्य झलनाथ खनालले उद्धृत गरे ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले केही रिपोर्ट आउन बाँकी रहेकाले नियमित डायलासिस अथवा प्रत्यारोपणको विकल्प रोजिने बताएका जानकारी दिए । खनालका अनुसार प्रधानमन्त्रीले नियमित डायलासिस नै गराउने छन् ।
प्रधानमन्त्रीको गत बुधबार ग्राण्डीमा पहिलो चरणको डायलासिस गरिएको थियो । बिहीबार दोस्रो चरणको डायलासिस गरिएपछि शनिबार या आइतबार तेस्रो चरणको डायलासिस गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
१३ वर्षअघि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री त्यसयता नियमितजस्तो स्वास्थ्य जाँच गराइरहेका छन् ।
दुई महिनाअघि पनि प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार भएको थियो । प्लाज्मा फेरिससको माध्यमबाट शरीरमा जम्मा भएको एन्टीबडी नष्ट गरेर २० भदौमा फर्किएका थिए ।













प्रतिक्रिया