२८ आश्विन २०८३, बुधबार

जाडो छल्न बेँसी झर्दै डोल्पाली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

जाजरकोट, १६ कात्तिक । चिसो बढ्न थालेपछि डोल्पाका स्थानीयवासीहरु बेँसी झर्न थालेका छन् । दशैँ, तिहार जस्ता ठूला पर्व सकिएलगत्तै यी जिल्लाका स्थानीयवासीहरु तातोको खोजीमा जिल्ला छोड्न थालेका हुन् ।

कर्णालीका जिल्लाहरुमा दिन प्रतिदिन चिसो बढ्दै जाँदा हिमपात हुने सम्भावना पनि रहेको छ । दैनिकजसो चिसो बढ्न थालेपछि आजभोलिको घाम प्यारो लाग्न थालेको मुड्केचुला गाउँपालिका–७ का स्थानीयवासी नवराज शाहीले बताउनुभयो ।

तल्लो डोल्पाभन्दा माथिल्लो डोल्पाका अधिकांश स्थानीयवासी बेँसी झरिरहेको काइके गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र रोकायले बताउनुभयो ।

मङ्सिर, पुस र माघको तीन महीनाको जाडो छल्नका लागि जाजरकोट, नेपालगञ्ज, काठमाडाैँ सुर्खेत लगायतका जिल्लामा यहाँका स्थानीयवासी जाने गर्दछन् ।

अहिले डोल्पाको जुफाल विमानस्थलमा बैँसी झर्नेको ठूलो भीड रहेको छ । प्रत्येक वर्ष यही समयमा जाडो छल्न बेँसी झर्ने सर्वसाधारणको भीड लाग्ने गरेको डोल्पाको जुफाल विमानस्थलले जनाएको छ ।

कर्णालीवासीको जाडो छल्न झर्ने शहरहरुमध्ये काठमाडाैँ प्रमुख रोजाइमा पर्ने गर्दछ । यतिखेर जाडो मौसम शुरु भएसँगै कामकाजबाट समेत फुर्सद पाइने भएकाले पनि व्यक्तिगत कामकाजदेखि लिएर राजनीतिक भेटघाट र सामान किनमेलका लागि पनि काठमाडाैँ धेरै जाने गरेका हुन् । जाडो छल्न तराई झरेका डोल्पावासी फागुन महीना लागेपछि मात्रै घर फर्केर यार्सागुम्बा सङ्कलनतर्फ लाग्छन् ।

हिँउदको मङ्सिर, पुस र माघमा चिसोका लागि फुर्सद निकालेर बेँसी झर्ने उपल्लो डोल्पावासी कात्तिक महीनाभरि हिँउदेबालीका रुपमा रोपिने गहुँ, जौ, उवा लगायतका अन्नबालीहरु लगाइसक्ने गर्छन् ।

केहीले हिँउदमा भारी हिमपात भई चिसोले घरबाहिर समेत निस्कन नसकिने भएकाले आगो ताप्नका लागि कात्तिकमा गुइँठा, दाउराको जोहो धेरै हुने गर्दछ ।

चिसोमा घट्ट तथा मिलहरुमा जानसमेत समस्या हुने भएकाले खाद्यान्नको समस्या नहोस् भनेर कात्तिकमै धेरै परिमाणमा खाद्यान्न कुटानी–पिसानी किनमेल गर्दछन् ।