२८ आश्विन २०८३, बुधबार

वडा कार्यालयको सामग्री लुटपाट, प्रहरीद्वारा सुरक्षा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काभ्रेपलाञ्चोक, १४ कात्तिक । नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयको सामग्री आज लुटपाट भएको छ । भेँडाबारीस्थित वडा कार्यालयबाट सामग्री लुटेर गाडीमा लैजाँदै गर्दा देउराली चोकमा प्रहरीले हस्तक्षेप गरी सुरक्षित गरेको छ ।

नेपाली काङ्ग्रेस समर्थित भूपू सैनिक सङ्घ काभ्रेपलाञ्चोकको जिल्ला अध्यक्ष नमोबुद्ध नगरपालिका–३ दाहालटार निवासी इन्द्रप्रसाद दाहालको नेतृत्वमा गएको २०/२२ जनाको समूहले वडा कार्यालयको डेक्सटप कम्प्युटर एक, ल्यापटप कम्प्युटर एक, दराज, सम्पूर्ण कागजपत्र (फाइल), कार्यालयका टेबुल–कुर्सीलगायत सबै सामग्री लुटेर लगेको वडाध्यक्ष रामशरण हुमागाईंले जानकारी दिनुभयो ।

उहाँले आफू वडा कार्यालयको जमीन व्यवस्थापन तथा नापजाँचसम्बन्धी कामका लागि नापी कार्यालय धुलिखेल आएको मौकामा आज काङ्गे्रसका स्थानीय नेता कार्यकर्ताले वडाका सम्पूर्ण सामग्री लुटेर लगेको बताउनुभयो ।

करीब ११ बजे दुई वटा ट्रक लिएर आएका उनीहरुले वडा कार्यालयमा बसेका वडासदस्य शिवप्रसाद भूर्तेल, वडा सचिव रामचन्द्र श्रेष्ठ र वडाका कर्मचारी प्रमिला हुमागाईंलाई बाहिर निकाली काङ्ग्रेसका स्थानीय नेता कार्यकर्ताले सामग्री लगेको वडाध्यक्ष हुमागाईंले बताउनुभयो ।

“म वडा कार्यालयकै भवन बनाउन जमीन नापजाँचसम्बन्धी काम गर्नका लागि सदरमुकामस्थित नापी कार्यालय गएको बेला काङ्ग्रेसका नेता कार्यकर्ताले सामग्री लुटेर लगेछन्, मलाई वडासदस्य श्रेष्ठले जानकारी गराएपछि मात्रै थाहा पाएँ”, उहाँले भन्नुभयो ।

केही समयदेखि वडा कार्यालय सार्ने विषयमा काङ्ग्रेसका नेता कार्यकर्ताले आफूलाई दाहालटारमा सार्नुपर्छ भन्दै दबाब भइरहेको वडाध्यक्ष हुमागाईंले बताउनुभयो ।

उहाँका अनुसार भेँडाबारीस्थित एक घरमा अस्थायीरुपमा सञ्चालन गरिँदै आइएको वडा कार्यालय वडाको केन्द्र भाग पर्ने गरी देउराली डाँडामा राख्ने निर्णय वडास्थित जनप्रतिनिधि तथा नगर कार्यपालिकासमेतको बैठकले निर्णय गरिसकेको छ ।

उहाँले भन्नुभयो, “दाहारटारमा वडा कार्यालय सार्न निकै दबाब थियो, दाहालटार वडाको केन्द्र भाग पर्दैन, वडा र नगरले नै देउरालीमा राख्ने निर्णयपछि ढुक्क थियौँ, तर आफैँ सामग्री लुटेर लैजान थालेपछि थप विवाद निकाल्न खोजियो ।”

भूपू सैनिक सङ्घका जिल्ला अध्यक्ष दाहालले आफूहरुले वडा कार्यालयको सामग्री निकालेर ल्याएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, “वडावासीको चाहना दाहालटारमा वडा कार्यालय बनाउने छ, उनीहरुले एकलौटी निर्णय गरेर हुँदैन, त्यसैले सामग्री उठाएर ल्याएका हौँ ।” वडा कार्यालय सार्न आफूसँग सयौँ वडावासी गएको उहाँले दाबी गर्नुभयो ।

वडा कार्यालयको सामग्री ल्याएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट गएको प्रहरी टोलीले देउराली चोकमा हस्तक्षेप गरी गाडी नियन्त्रणमा लिएको थियो ।

करीब १ बजे पुगेको प्रहरीले कार्यालयको सामग्री सुरक्षित गर्न लुटपाटमा संलग्नलाई तितरवितर पारेको थियो । “हामीले सामग्री सुरक्षित गरी, पुनः कार्यालयमा सामग्री फर्काएका छौँ”, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले भन्नुभयो । –रासस