
काठमाडौँ, १३ कात्तिक । जुवा काण्डमा पक्राउ परेका २५ मध्ये ६ भिभिआइपी जुवाडेलाई सर्वोच्च अदालत लगिएको छ ।
उनीहरुले गैरकानुनी थुनामा राखिएको दावी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि उक्त रिटको सुनुवाई गर्न उनीहरुलाई अदालत लगिएको हो ।
भाइटीकाअघि नै छुट्ने आशामा सर्वोच्च पुगेका उनीहरुको मुद्दा गत सोमबार समय अभाव भन्दै हेर्दाहेर्दैमा राखिएको थियो ।
अदालतले उनीहरुलाई बुधबार ११ बजे उपस्थित गराउन भनेपछि अदालत लगिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
तिहारभर थुनामा बस्नुपर्ने भएपछि सर्वोच्च जानेमा क्यासिनोका खेलाडी बलराम सापकोटा ‘बले’ ठेकेदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामाले सर्वोच्च गुहारेका थिए ।
शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।











प्रतिक्रिया