काठमाडौं, १५ फागुन । एमाओवादी नेतृत्वको तीस दलीय गठबन्धनले भोलि फागुन १६ गतेको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहका अनुसार बिहान एघार बजेदेखि जुलुस र बिरोध -यालीहरू खुल्लामञ्चतर्फ जान सुरू गर्नेछन् ।
खुल्लामञ्चमा सबै जुलुसहरू जम्मा भएपछि एक बजेदेखि सभा सुरू हुने सिंहले जानकारी दिनुभयो ।
‘भोलि फागुन– १६ गतेको सम्पूर्ण तयारी पूरा भएको छ’, सिंहले भन्नुभयो, ‘-याली, मञ्च व्यवस्थापन, झाँकी, स्वयं सेवक परिचालनलगायतका सबै तयारी भएको छ ।’
उहाँले पहिलो चरणको अन्तिम दिनको कार्यक्रम रहेकाले उल्लेख्य कार्यकर्तालाई सहभागी गराइने बताउनुभयो । भोलिको कार्यक्रमका बारेमा भने मधेस केन्द्रित दलहरूमा धेरै उत्साह नरहेको स्रोतको भनाइ छ ।
बिरोध -यालीलाई एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले माइतीघरमण्डलाबाट नेतृत्व गर्ने कार्यक्रम तय भएको छ ।
एमाओवादीले माइतीघरमण्डलका साथै चाबहिल, बालाजु, कालीमाटी र लगनखेलबाट जुलुस तथा बिरोध -याली निकाल्ने छ । बिरोध कार्यक्रमको प्रमुख शक्ति एमाओवादी हो ।
संघीय समाजवादी पार्टीले स्वयम्भ, डल्लु पलु र बसन्तपुरबाट जुलुस र -याली निकाल्ने छ भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले त्रिपुरेश्वरबाट जुलुस र -याली निकाल्ने जनाइएको छ ।
साना दलहरूलाई भने भृकुटीमण्डप र भद्रकालीबाट -याली निकाल्न भनिएको छ ।
पद्मरत्न तुलाधर संयोजक रहेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले सुन्धाराबाट -याली निकाल्ने छ ।
तीस दलका केन्द्रीय नेताहरूलाई मञ्चको अगाडिको भागमा कुर्सी राखेर बस्ने व्यवस्था मिलाइने प्रवक्ता सिंहले बताउनुभयो ।
यसैबीच, स्वयं सेवक परिचालनको जिम्म एमाओवादीले आफैले राखेको छ । एमाओवादीले आफ्ना वाइसियलका कार्यकर्तालाई विशेष पोशाकमा सडकमा उतार्ने छ ।
स्वयं सेवकहरूले -याली र प्रदर्शनलाई व्यवस्थित गर्ने छन् । उनीहरूले सभामा घुसपैठक हुन नदिन विशेष ध्यान दिने प्रवक्ता सिंहले बताउनुभयो ।
गठबन्धनले राजधानीका साथै उपत्यका बाहिरबाट पनि कार्यकर्ता ल्याउने छ ।
ती कार्यकर्तालाई सकेसम्म भोलि फागुन १६ गते नै आ–आफ्नो घर पठाउने सिंहले बताउनुभयो । उहाँले करिब दुई लाख कार्यकर्ता सडकमा उतार्ने योजना रहेको सुनाउनु भयो ।















प्रतिक्रिया