भीमदत्तनगर, १५ फागुन । बैतडीमा वार्षिक ५९ प्रतिशतले बाल विवाह बढ्न थालेको एक तथ्याङ्कले देखाएको छ ।
केही महिनाअगाडि चारवटा गाविसमा गरिएको अध्ययनअनुसार ५९ प्रतिशत बालविवाह हुने गरेको देखिएको छ ।
बालविवाह नै महिलामाथि हुने हिंसाको प्रमुख कारण भएकाले सचेतीकरणका कार्यक्रमलाई जोड दिइने महिला तथा बालबालिका कार्यालय पाटन बैतडी महिला विकास निरीक्षक विश्ना भण्डारीले बताउनुभयो ।
जिल्लालाई बालविवाह मुक्त घोषणा गर्न बैैतडीको सिद्धेश्वर गाविसलाई जिल्लाकै पहिलो बालविवाहमुक्त गाविस घोषणाका लागि पहल थालिएको छ ।
गाविसलाई बालविवाहमुक्त गाविस घोषणाका लागि महिला तथा बालबालिका कार्यालय पाटन बैतडीले औपचारिक रुपमा प्रस्ताव पेस गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहयोगमा गाविसलाई बालविवाहमुक्त गाविस घोषणा गर्ने तयारी भएको हो ।
गाविसभरि बेसलाइन सर्भे गरी आएको तथ्याङ्कलाई विश्लेषण गर्दै बालविवाहलाई पूर्ण रुपमा बन्देज लगाउने खालका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताउनुभयो ।
बालविवाह नरोकेसम्म महिलामाथि हुने गरेका हिंसा कम नहुने भएकाले गाविसमा रहेका विद्यालयका शिक्षक, विद्यार्थी, महिला स्वास्थ्य स्वयम्सेविकालगायतलाई बालविवाहले महिलाको समग्र जीवनमा पार्ने असरका बारेमा जानकारी गराई सचेतीकरणका कार्यक्रम सञ्चालन गरिने जानकारी उहाँले दिनुभयो ।















प्रतिक्रिया