काठमाडौं, ९ कात्तिक । १४ मंसिरका लागि तय गरिएको प्रतिनिधि, प्रदेश र स्थानीय तहका रिक्त ठाउँका उप निर्वाचनको क्रममा चर्चामा रहेको क्षेत्र हो, कास्की– २ ।
३७ जिल्लाका ५२ स्थानका लागि उप चुनावको आचारसंहिता लागु भइसकेको निर्वाचन आयोगले जनाएको छ । यसबीचमा दिवंगत नेकपा नेता रवीन्द्र अधिकारी (पर्यटन मन्त्री हुँदा नै हेलिकोप्टर दुर्घटनामा हालै निधन भएका)को क्षेत्रमा नेकपाले उनकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने तय गरेको छ ।
सोही क्षेत्रमा साझा पार्टीका तर्फबाट रजनी केसीको नाम उम्मेदवारमा घोषणा गरिसकिएको छ ।

नेकपामा आवद्ध भएका र चुनावताका वा सेरोफेरोमा उम्मेदवारको निधन भएपछि उनका पत्नीहरूलाई मौका दिने निरन्तरता चलेको छ । यहि उपक्रममा भट्टराईको नाम पनि कास्की जिल्ला कार्य समितिबाट सर्वसम्मत सिफारिस भएको हो ।
हालसम्म नेकपाका नेत्रीले पतिको निधन भएपछि चुनाव जितेको इतिहास रहँदै आएको छ । राष्ट्रपति विद्या भण्डारी त्यसक्रमकी एक गतिलो उदाहरण हुन् । ०५१ सालमा तत्कालिन एमाले महासचिव मदन भण्डारीको दुर्घटनामा निधन भएको सेरोफेरोमा काठमाडौंबाट निर्वाचन जितेर प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।
यस्तै, ०६४ सालको संविधान सभा निर्वाचनका क्रममा सुर्खेतका तत्कालिन एमाले उम्मेदवार ऋषिप्रसाद शर्मा हत्या भएपछि उनकी पत्नी कमला शर्मालाई उम्मेदवार बनाइएको थियो । जसले भारी मतले चुनाव जितेकी थिइन् ।
नेकपाले यहि क्रमलाई जारी राख्नका लागि अधिकारीको क्षेत्रमा उप निर्वाचनमा भट्टराईलाई उम्मेदवार बनाउने सिफारिस गरेको हो । नेकपाको लोकप्रियता कायम राख्न र कास्की २ फुत्किन नदिनका लागि यस्तो सिफारिस गरिएको बताइएको छ ।
‘उहाँको विकल्पमा जाँदा एउटा सीट गुम्न सक्ने खतरा हुने भयो, यसकारण पनि भट्टराईको सिफारिस गरिएको हो । यो उहाँको अधिकार पनि हो’, एक नेता भन्छन् ।
त्रिभुवन विश्वविद्यालयमा जागिरे रहेकी भट्टराईको बारेमा अन्तिम निर्णय हुन बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि नेकपाले उनको विषयमा टुंगो लगाउनेछ । तर, जिल्लाबाट नै सिफारिस आएका कारण औपचारिकता दिन मात्र बाँकी रहेको बुझिएको छ ।











प्रतिक्रिया