
चन्द्रौटा, ८ कात्तिक । विभिन्न समयमा भारतको गोरखपुर पुगेका पाँच बालबालिकालाई शान्ति पुनस्र्थापना गृहले उद्धार गरेको छ । उद्धार गरिएका बालबालिका १२ देखि १७ वर्षका छन् । पीआरसीले कपिलवस्तुका ३ बालक र रुपन्देहीका दुई बालिकालाई गोरखपुरबाट उद्धार गरी नेपाल फर्काएको हो ।
कपिलवस्तुको कृष्णनगरस्थित एक विद्यालयमा अध्ययनरत दुई बालक १४ वर्षे हजरत अलि र वर्ष १४ कै जियाउल मुस्तफा विद्यालय छुट्टीपछि ट्रेन हेर्न भारतको बढनी पुगी ट्रेन चढे । विडम्बना तत्काल ट्रेन चलेपछि उनीहरु गोरखपुर पुगे । स्टेशनमा ट्रेनबाट उर्लेपछि यताउता भौंतारिए ।
खानका लागि समेत उनीहरुसँग पैसा नहुँदा होटलमा काम गर्न थाले । तर भारतमा बालबालिकाहरुलाई बालश्रममा लगाउन नपाइने कडा नियम भएकाले भारतीय प्रहरीमार्फत उनीहरुलाई गोरखपुरस्थित राजकीय बालगृहको जिम्मा लगाइएको थियो ।
हजरत अलि शिवराज नगरपालिका वडा नं. ७ निवासी सराफत हुसेनका छोरा हुन् । उनी कृष्णनगरमा बसेर पढ्दै आएका थिए । उनलाई पूर्व मन्त्री ईश्वर दयाल मिश्रले दिएको सूचनाका आधारमा पीआरसीले साताअघि उद्धार गरी नेपाल फर्काएको थियो । जियाउल मुस्तफा भने कृष्णनगर १० निवासी जुबेद आलम मुसलमानका छोरा हुन् ।

यता भारतमा आफन्तकहाँ गएका महाराजगञ्ज नगरपालिकाका अस्गरी मुसलमानका १३ वर्षे छोरा एहसान भनिने अलिकाली मुसलमान भारतस्थित आनन्दनगर स्टेसनमा एक्लै घुमिरहेका बेला एक वर्कसपमा लगिएको थियो । भारतीय प्रहरीले ती बालकलाई फेला पारी उद्धार गरेर गोरखपुर राजकीय बाल गृहमा पठाएको थियो ।
यस्तै रुपन्देही बुटवल उपमहानगरपालिका ३ कि १७ वर्षीय अमृता (नाम परिवर्तन) र सिद्धार्थनगर नगरपालिका ३ कि १२ वर्षीय निशा (नाम परिवर्तन) लाई दुई बालक सहित ४ जना बालबालिकालाई पीआरसी कपिलवस्तुका संयोजक भूमिराज भट्टराईले एकैसाथ उद्धार गरी नेपाल फर्काएको बताएका छन् ।
शान्ति पुनस्र्थापना गृह कपिलवस्तुका संयोजक भूमिराज भट्टराई बिहीबार गोरखपुर पुगी ती बालबालिकाहरुको उद्धार गरेका छन् हुन् । अभिभावकसहित गोरखपुर पुगेर विहीबार नै उद्धार गरी राति नै नेपालको कपिलवस्तु कृष्णनगर ल्याइपु¥याएको भट्टराईले जानकारी दिए ।
नेपाली दुताबासबाट उद्धारका लागि विस्तृत विवरणसहितको पत्र लिएर अभिभावक सहित त्यहाँ पुगी ती बालबालिकाहरुको उद्धार गरेको उनले बताए ।
साताअघि एक बालकलाई उद्धार गर्ने क्रममा अझै त्यहाँ चार बालबालिका रहेको जानकारी पाएसँगै पुनः उनी उद्धारका लागि प्रक्रिया अघि बढाएको बताएका छन् ।
एकैसाथ उद्धार गरिएका ४ बालबालिकामध्ये दुई बालकहरुलाई बिहीबार राति नै परिवारको जिम्मा लगाई घर पठाएको भट्टराईले बताए । रुपन्देहीका दुई बालिकालाई भने शुक्रबार परिवारको जिम्मा लगाई घर पठाएको उनले जानकारी दिए ।











प्रतिक्रिया