
काठमाडौँ, ७ कात्तिक । मन्त्रिपरिषद्को यही कात्तिक ५ गते भएको बैठकले नेपाल सरकार र बङ्गलादेश सरकारबीच सम्पन्न द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता सङ्घीय संसद्मा जानकारीका लागि पेश गर्न स्वीकृति दिएको छ ।
बैठकले चालू आर्थिक वर्ष २०७६/७७ का लागि धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल मोटा धानको रू. २५ हजार ३२ रुपियाँ ८० पैसा र मध्यम धानको २६ हजार ७३ रुपियाँ १६ पैसा तोक्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।
यस्तै, बैठकले इन्जिनीयर तुलाराम पौडेललाई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) इनर्जी केन्द्र इस्लामाबाद (पाकिस्तान) को ‘प्रोफेसनल स्टाफ रिसर्च फेलो’ का रूपमा काजमा खटाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले सुनसरीको देवानगञ्ज गाउँपालिकालाई देवानगञ्ज गाउँपालिका वडा नं. २ मा रहेको ९ कठ्ठा सरकारी जग्गा ३० वर्षसम्म निःशूल्क लिजमा उपलब्ध गराउन स्वीकृति दिएको छ ।
त्यस्तै बैठकले नेपाली सेनाका लेखा उपरथी भुवनबहादुर अधिकारी क्षेत्री र महासेनानी आशिषप्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरेको छ ।
रोजगारीको हकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको मन्त्रिपरिषद् वैठकले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरेको छ ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गरिएको छ । माराकेश सन्धि, २०१३ अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरिएको छ ।
मालपोत नियमावली, २०३६ को नियम ५ ख(१) को समितिले गरेको न्यूनतम मूल्याङ्कनसम्बन्धी निर्णय परिमार्जन गर्न स्वीकृति दिइएको सञ्चारमन्त्री बाँस्कोटाले बताउनुभयो ।
बैठकले काठमाडौँ उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । गैर करका दरहरू पुनरावलोकन स्वीकृत गरिएको छ ।
त्यस्तै, सुचना महामार्ग निर्माणसम्बन्धी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको परियोजना कार्य नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र भारतको ‘इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चबीच अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने विषयको समझदारी पत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अख्तियारी दिइएको छ ।
कात्तिक १३ गते सार्वजनिक बिदा
सरकारले आगामी कात्तिक १३ गते बुधवारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्थासमेतमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीलाई विशिष्ठ श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । –रासस











प्रतिक्रिया