११ मंसिर २०८३, शुक्रबार

फेक इन्काउन्टरबाट हत्या

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगल विप्लव नेकपाको सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीको भिडन्तमा नभई प्रहरीले बल प्रयोग गरेर मारेको ठहर गरेको छ ।

५ असारमा राज्यद्वारा प्रतिबन्धित पार्टी विप्लव नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको प्रहरीबाट हत्या भएको थियो ।

दोस्रो दिन राष्ट्रिय मानवअधिकार आयोगले सो हत्याको विषयलाई लिएर छानविन टोली गठन गरेको विज्ञप्ति मार्फत जनाएको थियो ।

एक महिनापछि आयोगले प्रहरी र स्थानीयसँग छानविनका लागि अनुसन्धान थालेको थियो । सोमबार मानवअधिकार आयोगले निर्णय गर्दै घटनाको लामो अनुसन्धानपछि पछि पौडेलको हत्यालाई गैर न्यायिक भनेको छ ।

सर्लाही घटनाको अनुसन्धानमा खटिएका आयोगका सदस्य गोविन्द पौड्यालले सो घटनामा पौडेललाई नियन्त्रणमा लिएर मारेको देखिएको बताए ।

गिरफप्तार गरी हत्या गर्ने तीन जना प्रहरीलाई आयोगले फौजदारी कसुरअन्तर्गत मुद्दा चलाउन सरकारलाई निर्देशन समेत दिएको उनले जानकारी दिए ।

मानवअधिकार आयोगले घटनाको अनुसन्धान गर्दै भनेको छ, ‘प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएको टोली र सर्लाही प्रहरीको टोलीले पौडेललाई नियन्त्रणमा लिएर ९ गोली हानेको अनुसन्धानमा देखियो ।’

आयोगले घटनामा संलग्न प्रहरीलाई निर्देशन दिने तथा आदेश दिने तथा दुरुत्साहन गर्ने व्यक्तिमाथि समेत अनुसन्धान गरी कानुनी दायरमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

पौडेल हत्यामा संलग्न प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह र प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोग मुद्दा चलाउन र प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्कीले घटनाको मुचुल्का गर्दा त्रुटीपूर्ण तवरले कार्य गरेकाले सचेत गराउन निर्देशन दिएको छ ।

त्यस्तै आयोगले मृतक कुमार पौडेलको परिवारलाई क्षतिपूर्ति वापत तीन लाख रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको छ ।