
काठमान्डौँ, ४ कात्तिक । देव विकास बैंकको १८ करोड ३ लाख ६२ हजार ८ सय १८ रुपैयाँ हिनामिना प्रकरणमा सञ्चालक समितिका पदाधिकारीसहित ५६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।
आइतबार तुलसीपुरस्थित उच्च अदालतको वाणिज्य इजलासमा देव विकास बैंकको १८ करोड बढी रकम हिनामिना प्रकरणमा तत्कालीन सञ्चालक खड्गबहादुर बुढाथोकीसहित ५६ जनाकाविरूद्ध बैंकिङ कसूरमा मुद्दा दर्ता भएको हो ।
आइतबार सरकारी वकिल कार्यालयले सञ्चालक बुढाथोकीसहित ६ जना बैंक सञ्चालक, एक जना अडिटर, सिइओसहित ६ जना कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना समेत गरी ५६ जनाविरूद्ध मुद्दा दर्ता गरेको अदालतका रजिष्ट्रार तथा सूचना अधिकारी प्रेम खड्काले जानकारी दिए ।
त्यसमध्ये पक्राउ परेका १३ जना प्रतिवादीलाई आइतबार अभियोगपत्रसहित अदालतमा पेश गरिएको छ ।
जसमा तत्कालीन बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरु अर्जुन बुढाथोकी, खड्ग बुढाथोकी, बेगमबहादुुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटा र अर्जुन बुढाथोकी, हिनामिनका मुुख्य दोषी तत्कालीन प्रबन्धक समिर बुढाथोकी, बैँकका कर्जा विभाग प्रमुुख अनिल न्यौपाने रेहका छन् ।
सिईओ खिमबहादुुर डिसी, अडिटर प्रेम भुर्तेल, कर्जा सहायक पोषण जैसी, अर्चना केसी, ऋण कमिटीका सदस्य राजेन्द्र न्यौपाने र खातावाला बसन्त बस्नेतसहित ५६ जना बिरुद्ध मुुद्दा दर्ता भएको जिल्ला न्यायाधिवक्ता सुशील देवकोटाले जानकारी दिनुभयो ।
हिनामिनामा मुछिएका सञ्चालक समिति सदस्यहरुमध्ये निर्मल देवकोटा राष्ट्रिय सभा सदस्य तथा नेपालि काग्रेसकी नेतृ अनिता देवकोटाका श्रीमान हुन् । जसमा सञ्चालक समितिका छ जना, कर्मचारी सात र खातावाला ४३ जना गरी ५६ जना रहेको उनले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले आइतवार तुलसीपुरमा बैंकका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र खातावाल गरी ५६ जनाबिरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङले दुई महिना अनुसन्धान गरेर प्राप्त प्रमाणहरुलाई शुक्रवार सरकारी वकिल कार्यालयमा बुझाएपछि आइतवार कसुरदार विरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको हो ।
प्रतिवादीहरूको बयान आइतबारदेखि नै सुरू भएको छ । देव विकास बैंकका सिइओ विजयबहादुर श्रेष्ठको जाहेरीका आधारमा गत भदौ ३ गते नै शाखा प्रबन्धक बुढाथोकी पक्राउ परेका थिए ।
बुढाथोकीको बयानका आधारमा वरिष्ठ प्रबन्धक न्यौपाने, अन्य कर्मचारी र खातावालालाई समेत प्रहरीले विभिन्न समयमा पक्राउ गरेको हो । बैंक सञ्चालकहरू र सिइओ भने फरार छन् ।
अदालतबाट पक्राउ पूर्जी जारी गरी उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।
सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा पेश गरेको अभियोग पत्रमा एउटै व्यक्तिले ५ करोडसम्म रकम हिनामिना गरेको उल्लेख छ ।
सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा दोब्बर बिगो माग दाबी गरिएको छ । १८ करोड ३ लाख ७२ हजारको दोब्बर बिगो (३६ करोड बढी) हुन आउँछ। ही बमोजिम जरिवाना र अभियुक्तलाई कैद सजायको माग गर्दै मुद्दा दायर भएको छ ।
५६ जना सबैलाई एउटै बिगो बमोजिम जरिवाना र कैद माग गरिएको छ। बैकिङ कसूर मुद्दामा बिगो बमोजिम जरिवानासहित दुई वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।











प्रतिक्रिया